२०८१ बैशाख १८ , मंगलबार

क्यासिनोले अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटर दुरी कायम गर्नुपर्ने

casino

 

सुनाखरी न्युज/काठमाडौं ।

नेपालमा अब दर्ता हुने क्यासिनोले अन्तर्राष्ट्रिय सीमाबाट ५ किलोमिटर दुरी कायम गर्नुपर्ने भएको छ । बुधबार  प्रतिनिधिसभाबाट पारित भएको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८० ले पर्यटन ऐन–२०३५ मा संशोधन गरेको छ ।

 

यो ऐनले क्यासिनो सञ्चालन इजाजतपत्र दिन सकिने मापदण्डमा अन्तर्राष्ट्रिय दुरी ५ किलोमिटर तोकिएको छ । यसअघि यो दुरी तीन किलोमिटर मात्र थियो ।

क्यासिनो अब चारतारे र त्यसभन्दा माथिका होटलमा मात्र चलाउन पाइने छ । साथै, क्यासिनोले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको हुनुपर्छ । संशोधित प्रावधान अनुसार नयाँ नियम सुरू हुनुअघि तीन किलोमिटर भित्र कानुन अनुसार इजाजत पत्र लिएकाको हकमा निरन्तर चलाउन पाइने छ ।

 

तर, चारतारे वा त्यसभन्दा माथिका होटलमा मात्र चलाउन पाइने मापदण्ड पूरा नभएका क्यासिनोले भने यो स्तर र मापदण्ड पूरा गरी ५ किलोमिटर भित्र स्थानान्तरण गर्नुपर्ने समेत नियम बनेको छ ।

स्थानान्तरणका लागि तीन वर्षको समय दिइने छ । पर्यटन ऐनमा यसअघि क्यासिनो सञ्चालनसँग सम्बन्धित प्रावधान थिएन । नियमावलीबाट क्यासिनो नियमन भइरहेको थियो । यसलाई परिच्छेदका रूपमा ऐनमा थप गरिएको छ ।