
सुनाखरी न्युज/ काठमाडौं ।
यस वर्ष बागलुङमा आठ वटा ठूला सडक आयोजना स्तरोन्नति हुन थालेका छन् । सङ्घीय सरकारअन्तर्गतका आयोजना सडक डिभिजन कार्यालय बागलुङमार्फत स्तरोन्नति हुन थालेका हुन् । ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गतका दुई वटासहित अन्य ठूला छ सडक स्तरोन्नति गर्न थालिएको सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी इञ्जिनियर अमर अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत क्षेत्र नं १ को बागलुङ–सिगाना–बरेङ–शान्तिपुर र क्षेत्र नं २ अन्तर्गत मल्म–पाण्डवखानी–रणसिंहकिटेनी हुँदै प्यूठान जोड्ने सडक स्तरोन्नति गर्न लागिएको हो ।
जिल्लामा ठूला सडक मानिने बागलु–बेनी सडक, पाखुट्टे–झिम्पा–निसी सडक, सहिद मार्ग, डोठे ताल हुँदै भकुण्डे रायडाँडा हुँदै जैमिनी जोड्ने सडक, बडिगाड–रणसिंहकिटेनी सडक, दमेक–दूर्लेबेसी सडक स्तरोन्नतिका लागि करिब रु सात करोड विनियोजन भएको इञ्जिनियर अधिकारीले जानकारी दिनुभयो । अधिकांश ठेक्का सम्झौता भएर काम सुरु हुन लागेको उहाँको भनाइ छ । सडक फराकिलो बनाउने, नाली निर्माण र कतै ढलान गरिने उहाँले बताउनुभयो ।
‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक’ अन्तर्गत क्षेत्र नं १ को बागलुङ–सिगाना–बरेङ–शान्तिपुरका लागि रु एक करोड, क्षेत्र नं २ अन्तर्गत मल्म–पाण्डवखानी–रणसिंहकिटेनीका लागि रु एक करोड, पाखुट्टे–झिम्पा–निसी सडकका लागि रु ५० लाख, डोठे ताल हुँदै भकुण्डे रायडाँडा हुँदै जैमिनी जोड्ने सडकका लागि रु एक करोड, बडिगाड–रणसिंहकिटेनी सडकका लागि रु ५० लाख सहिदमार्ग स्तरोन्नति रु एक करोड, दमेक–दूर्लेबेसी सडकका लागि रु एक करोड, बागलुङ–बेनी सडक मर्मतका लागि रु एक करोड ३३ लाख विनियोजन भएर कार्यान्वयनमा गएको उहाँको भनाइ छ ।
इञ्जिनियर अधिकारीले भन्नुभयो, “अघिल्लो वर्ष विभिन्न सडकमा निर्माण कम्पनीले काम गरेका थिए, करिब रु चार करोड भुक्तानी गर्न बाँकी छ, यस वर्ष पनि यहाँका केही सडकमा काम हुँदैछन्, योजना परेका अधिकांश ठेक्का सम्झौता भएर काम सुरु हुँदैछन् भने केही ठेक्का प्रक्रियामा गएका छन्, यस वर्ष केही सडक मर्मत पनि हुँदैछन्, बजेट निकै कम आउँदा योजना कार्यान्वयनमा निकै समस्या हुने गरेको छ, करोडौँका योजना छन्, निकै कम बजेट विनियोजन हुन्छ ।”
पालिका केन्द्र गलकोटदेखि पाण्डवखानी रमुवा ३५ किलोमिटर टाढा छ । अहिलेसम्म सडक स्तरोन्नति नहुँदा प्रशासनिक कामका लागि पालिका केन्द्र आउन पाँच घन्टा र जिल्ला सदरमुकाम पुग्न आठ घन्टा लाग्ने स्थानीयवासीको भनाइ छ ।
“यो गाउँ पालिकाको केन्द्रदेखि धेरै टाढा छ, सडक राम्रो हुन्थ्यो भने यात्रा गर्न सहज हुन्थ्यो, यतिका वर्षसम्म पनि सडकको हालत खराब छ, नगरपालिकामा सामान्य काम गर्न आउँदा पनि दिनभरि यात्रा गर्नुपर्ने स्थिति छ, जिल्ला सदरमुकाम पुगेर फर्कन त झनै कठिन छ”, स्थानीय मनिक घर्तीमगरले भन्नुभयो, “एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक भनेर योजना परे पनि प्रभावकारीरुपमा काम हुन सकेको छैन, सडक निकै अप्ठ्यारो हुँदा गाउँमा कोही बिरामी परे तत्काल अस्पताल पु¥याउन बढी समस्या हुने गरेको छ, एम्बुलेन्स आए पनि सडकको खाल्डाखुल्डीका कारण समयमै पुग्न पनि समस्या हुन्छ ।” रासस