२०८३ जेठ १२ , मंगलबार

पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम

Capture

सुनाखरी न्युज/ पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम सुरु भएको छ । पत्रकार महासंघको सभाहलमा आयोजना गरिएको डिजिटल साक्षरता तालिम सोमबार सम्म चल्नेछ । तालिममा अधिवक्ता सन्तोष सिग्देलले डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता एवम् गलत तथा भ्रामक सूचनाका विषयमा प्रशिक्षण दिँदैछन् ।

पोखरा महानगरपालिकाको सहयोगमा भएको तालिममा पोखराका क्रियाशिल पत्रकारहरुको उपस्थिति छ । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली मगरले समाजमा नकरात्मक सूचना भन्दा सकरात्मक विषयलाई उठान गर्नुपर्ने आवश्यकतालाई जोड दिएका छन । महत्वकांक्षा आवश्यकता भन्दा बढी हुँदा सबै क्षेत्रमा समस्या आएको भनाई उनको छ । पेशा प्रतिको लगनशिलताले सफलता मिल्ने उनले उल्लेख गरे । पत्रकारितामा पनि ब्ल्याकमेल हुँदा सो क्षेत्रमा नकरात्मक प्रभाव परिरहेको उनले बताए । मन्त्री जुग्जालीले गन्तव्यमा पुग्न हतार गर्न नहुने बताए ।

मन्त्री जुग्जालीले गण्डकी प्रदेशमा यातायातमैत्री कानून बनाउन आफुहरु लागिरहेको उल्लेख गरे । यातायात क्षेत्रलाई सुदृढ बनाउन नीतिगत तहलाई सुधार गर्नुपर्ने आवश्यकता ठानेर काम भइरहेको जानकारी उनले गराए ।पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले डिजिटल साक्षरता, सुरक्षा तथा सूचना अखण्डता तालिम समय सापेक्ष भएको बताइन् । उनले कास्कीका पत्रकारहरुलाई सो सम्बन्धि तालिमको आवश्यकता ठानेर नै तालिमको आयोजना गरिएको जानकारी गराइन् । तालिमले कास्कीका पत्रकारहरुको डिजिटल सक्षमता बढाउन मदत पुग्ने विश्वास उनको छ ।

भण्डारीले प्रदेश सरकार पनि सुशासनमैत्री बन्नुपर्ने आवश्यकतालाई औंल्याएकी छिन् । सुशासन पारदर्शितामा प्रदेश सरकारसँग मिलेर अगाडि बढ्न महासंघ तयार रहेको उनले बताइन् ।प्रशिक्षक सिग्देलले डिजिटल साक्षरता पछिल्लो समय महत्वपूर्ण विषय भएको उल्लेख गरे । उनले अनलाइन मिडिया संचालन गरिरहँदा स्रोत सुरक्षाको आवश्यकतालाई समेत उठाएका छन् । पत्रकारलाई अनलाइन फ्रिडम स्पेसका बारेमा जानकारी हुनुपर्ने उनको भनाई छ । लेख्न जान्ने भनेर जे पनि लेख्दा पत्रकारितामा थुप्रै समस्या देखिएको उनले उल्लेख गरे ।

अभिव्यक्ति स्वतन्त्रताको सिमालाई नाघेर समाचार बन्दा समस्या उत्पन्न भएको उनले बताए । डिजिटल लिटेरेसीले पत्रकारलाई सक्षम बनाउन सहयोग पुग्ने विश्वास उनको छ । समाचारमा विश्वसनियता बढाउन डिजिटल लिटेरेसीको आवश्यकता रहेको उनले बताए । सामाजिक संजालको प्रयोगलाई डिजिटल साक्षरता भनेर बुझ्नु गलत भएको भनाई उनको छ ।पत्रकार महासंघ कास्कीले कास्कीका पत्रकारहरुका लागि समयसापेक्षित तालिमहरु गर्दै आएको तालिम संयोजक महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले बताए । उनले आगामी समय पनि महासंघले कास्कीको पत्रकारितालाई मर्यादित बनाउन तालिमको आयोजना गर्दै जाने उल्लेख गरे ।