२०८१ बैशाख २० , बिहिवार

अरुण चौधरीसँग प्रहरीले लियो बयान, छुटाउन चर्को दबाव

arun

सुनाखरी न्युज/ काठमाडौं ।

बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको नाममा रहेको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई छिटो छाड्न प्रहरीलाई दबाव परेको छ । राजनीतिक दबावकै कारण केन्द्रीय अनुसन्धान ब्यूरो {सीआईबी) ले छिटो प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत ब्रिफिङ गरेपछि सीआईबीले पक्राउ गर्न ‘ग्रिनसिग्नल’ पाएको थियो । त्यसपछि लाजिम्पाटस्थित घरमा एउटा टोलीले रेकी र अर्को टोलीले अदालतबाट पूर्जी लिएर बिहीबार उनलाई पक्राउ गरेको थियो । तर उद्योगी व्यवसायी र सत्तारुढ दलबाट प्रधानमन्त्रीमाथि चर्को दबाव परेको छ ।

सीआईबीले व्यवसायी अरुण चौधरीसँगै बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजितनारायण थापा र सिजी चाँदवाग रेसिडेन्सीका सञ्चालक सञ्जय ठाकुरलाई बिहीबार पक्राउ गरेको थियो ।

 

आफू समेत शेयर सदस्य रहेको बेला भएको निर्णयलाई लिएर प्रहरीले भाइ अरुणलाई पक्राउ गरेपछि नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले दौडधुप बढाएका थिए । शुक्रबार कांग्रेस सांसदीय दलको बैठकमा उनले राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको बताएका छन् ।

स्रोतका अनुसार उनी बिहीबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न पुगेका थिए भने सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समेत यस विषयमा प्रधानमन्त्रीसँग कुरा गरेका थिए ।

 

 

त्यही कारण सीआईबीका अनुसन्धान अधिकृतहरुको टोलीले शुक्रबार नै व्यवसायी चौधरी र बाँसबारीका पूर्व प्रमुख थापाको बयान लिएका छन् ।

बिहीबार साँझ दुवैलाई महाराजगञ्जस्थित चिरायू अस्पताल लगिएको थियो, तर राति स्वास्थ्यमा समस्या भएको भन्दै ग्राण्डी पुर्‍याइएको थियो ।