२०८१ जेठ ५ , शनिवार

वर्षापछि किसान खुसी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।

गत असोजमा मनसुन बहिरिएपछि पहिलोपटक सुदूरपश्चिम प्रदेशमा भएको वर्षाले किसान खुसी भएका छन् । लामो समयपछि वर्षा भएकाले बाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।कैलालीका किसान रामबहादुर चौधरीले भन्नुभयो, “वर्षा नहुँदा देखिएको सुक्खा मौसमले किसानलाई समस्या थियो । अहिले वर्षा भएसँगै गहुँ, मसुरो, तरकारी, फलफूललगायत हिउँदे खेतीका लागि राम्रो भएको छ ।” किसान जागुराम रानाले वर्षाले सिँचाइ सुविधाको अभाव झेलिरहेका किसानलाई ठूलो राहत मिलेको बताउनुभयो ।

बुधबार रातिदेखि बिहीबार अपराह्नसम्म कैलालीमा १४ दशमलव दुई मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको अत्तरियास्थित महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जयकुमार साहले जानकारी दिनुभयो ।“गत असोज अन्तिमतिर प्रदेशबाट मनसुनी वर्षा बाहिरिएपछि पहिलोपटक बुधबार र बिहीबार वर्षा भएको छ । यसले हिउँदे बालीका लागि अनुकूल प्रभाव परेको छ”, उहाँले भन्नुभयो, “वर्षाले मानव स्वास्थ्यका लागि वायुमण्डलमा रहेको अस्वथ्यकर हावालाई पनि सफा बनाएको छ ।”

पश्चिमी वायुको प्रभावस्वरुप वर्षा भएको साहले बताउनुभयो । पानी पार्ने प्रणाली बिहीबार साँझबाट विस्तारै कमजोर हुँदै गएको उहाँको भनाइ थियो । यस वर्ष गत पुस पहिलो हप्तादेखि झण्डै ३५ दिनसम्म बाक्लो हुस्सु र कुहिरोसँगै निरन्तर चलेको शीतलहरले जनवीवन कष्टकर बनेको थियो ।शीतलहरसँगै यही माघ ११ गते एक दशकयताकै सबैभन्दा कम तापक्रम एक दशमलव आठ डिग्रीसेल्सियस मापन गरिएको थियो । पछिल्लो पाँच दिनदेखि शीतलहरको समस्या हटेर घाम लाग्न थालेकामा बुधबार र बिहीबार हिउँदे वर्षा भएको हो ।

वर्षासँगै सुदूरपश्चिम प्रदेशका बाजुरा, बैतडी, दार्चुलाका हिमाली र उच्च पहाडी भेकमा हिमपात भएको छ । वर्षा र हिमपातले सिँचाइको अभावमा हुर्कन नपाएका पहाडी भेकका बालीलाई फाइदा पु¥याएको छ । हिमपातसँगै पहाडी र हिमाली क्षेत्रमा चिसो बढेको छ ।  रासस