२०८१ बैशाख १५ , शनिवार

हिमपातसँगै चिसो बढ्यो

Capture

सुनाखरी न्युज / काठमाडौं ।

बुधबारबाट भएको मौसम बदलीसँगै जिल्लाको लेकाली भेगमा हिमपात भएको छ । एकाएक मौसममा बदली भएर वर्षा हुन थालेपछि हिमपात सुरु भएको हो ।जिल्लाका नौवटै पालिकाका लेकाली र तल्लो क्षेत्रमा हिमपात हुन थालेको छ । पाँच महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकाका विच्छ्याँ र रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका लेकाली उच्च लेकाली भेगमा भारी हिमपात भएको छ ।

यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तड छेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो । बँेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । बुधबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको भारी हिमपातले जनजीवन कष्टकर बनाएको छ । बडीमालिका र बूढीनन्दा नगरपालिका लगायतका उच्च हिमाली क्षेत्र यस वर्ष कात्तिक अन्तिम साताबाट सेताम्मे हुने चुचुरा केही वर्षदेखि भने माघको मध्यतिर पुगेर सेताम्मे बनेका छन् ।

जिल्लाका हिमाली गाउँपालिका, बडिमालिका नगरपालिका, गौमुल गाउँपालिका, त्रिवेणी नगरपालिकाका, खप्तड छेडेदह गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिकाका लेकाली भूभागमा हिमपातसँगै वर्षा भइरहेको जानकारी प्राप्त भएको छ । वर्षा र हिमपात भएपछि बस्तुभाउ घाँस दाउराको समेत समस्या भएर जनजीवन नै कष्टकर बनेको स्थानीयले बताएका छन् ।

हिमपातका कारण सदरमुकाम मार्तडीलगायतका विद्यालयसमेत प्रभावित भएका छन् । चिसोसँगै हिमपात भएपछि विद्यालयबाट टाढा रहेका विद्यार्थीलाई आवतजावतमा समेत समस्या हुँदा पठनपाठनमा समस्या भएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने वर्षासँगै भारी हिमपात भएपछि खुसी भएका छन् ।

हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइएका विभिन्न बालीलाई फाइदा पुगेको बडीमालिका नगरपालिका–३ रजालीका कृषक कमल रावलले बताउनुभयो । वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारीलगायत किसानलाई फाइदा पुग्ने जिल्ला कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैशीले बताउनुभयो । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु तथा कालीकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टी सडकखण्डमा पर्ने बडिमालिका र बूढीनन्दा नगरपालिकाको पोरखे लेकमा हिमपात हुँदा त्यो क्षेत्रमा चल्ने यातायात सेवा प्रभावित भएको छ ।

वन्यजन्तु चोरी सिकारीको सम्भावना बढ्यो

वर्षासँगै हिमपात हुन थालेपछि लेकाली भेगबाट चिसोबाट बच्नका लागि बँेसी झर्ने जङ्गली जनावरको चोरी सिकारी बढ्ने भएको छ । हिमपात भएपछि चिसो छल्न बेँसी आउने हरिण, मृग रतुवालगायतका जनावरको चोरी सिकारी बढ्ने सम्भावना बढेको डिभिजन वन कार्यालयले जनाएको छ । वनजङ्गलमा रहेका वन्यजन्तुको स्थानीयले भाला, बन्दुक प्रयोग गरेर उनीहरुको चोरी सिकारी गर्ने सम्भावना बढेको डिभिजन वन कार्यालयका सूचना अधिकारी सुवासचन्द्र अयडीले बताउनुभयो ।

अयडीले वन्यजन्तुको चोरी सिकारी रोक्न डिभिजन वन कार्यालयले सुरक्षाकर्मीको सहयोगमा वन्यजन्तु चोरी सिकारी रोक्ने बताउनुभयो । चोरी सिकारीका घटना भएको पाइएमा वन ऐनअनुसार कारबाही गरिने उहाँले बताउनुभयो ।  रासस