२०८१ बैशाख २० , बिहिवार

पुनर्बीमा कम्पनीले १ वर्षभित्र २० अर्ब पूँजी पुर्‍याउनु पर्ने

himalayan-re-and-nepal-re-insurance

सुनाखरी न्युज/ काठमाडौं ।

नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको न्युनतम चुक्तापूँजी बढाएको छ । बीमा प्राधिकरण सञ्चालक समितिको  बुधबार बिहान बसेको बैठकले पुनर्बीमा कम्पनीको न्युनतम चुक्तापूँजी २० अर्ब पुर्‍याउने निर्णय भएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

‘पुर्नबीमा कम्पनीहरुको न्युनतम चुक्तापूँजी २० अर्ब पुर्‍याउने निर्णय भएको छ,’ पौडेलले भने, ‘पूँजी बढाउन १ वर्ष र पूँजी बढाउने योजना पेस गर्न १५ दिनको समय दिएका छौं ।’

 

कम्पनीहरुले नै पूँजी बढाउने योजना पेस गर्न समय दिएको र कम्पनीहरुले पेस गरेको योजनापछि मात्रै हकप्रद सेयर लगायतका विकल्पमाथि छलफल हुने पौडेलले बताए ।

पुनर्बीमा जोखिम बहन गर्नुपर्ने कम्पनी भएकोले पूँजीको आधार बलियो चाहिन्छ भनेर पूँजी बढाउन लागिएको प्राधिकरणले जनाएको छ ।

 

हाल नेपालमा २ वटा पुनर्बीमा कम्पनी सञ्चालनमा रहेका छन् । नेपाल सकराको समेत स्वामित्व रहेको नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पूँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ ।

यस्तै निजी क्षेत्रको लगानीमा स्थापना भएको हिमालयन रिइन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी १० अर्ब रहेको छ ।