२०८१ बैशाख १५ , शनिवार

आज राष्ट्रिय सभाको १९ सिटका लागिनिर्वाचन, नतिजा पनि आजै

Election Cpmiossion

सुनाखरी न्युज/ काठमाडौं ।

आज सातै प्रदेशमा  राष्ट्रिय सभा निर्वाचन हुँदै छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने छ ।

मतदान सकिएलगत्तै मत गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनको नतिजा ३–४ घण्टाभित्र सार्वजनिक गर्ने गरी तयारी गरिएको जानकारी प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले  दिए ।

 

राष्ट्रिय सभामा रिक्त हुन लागेको २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुन लागेको हो । एकजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा आठ राजनीतिक दलका ५१ जना उम्मेदवार छन् । कोशी प्रदेशमा ५, मधेसमा ५, बागमतीमा १५, गण्डकीमा ८ तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ६र६ जना उम्मेदवार छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ ८ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार छन् ।

 

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कुल २ हजार ४७ जना मतदाता रहेका छन् । यसको जम्मा मतभार ५७ हजार ५५९ छ ।

प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ तोकिएको छ ।

यसअनुसार प्रदेश सभा सदस्यको मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार २८ हजार ४६२ हुनेछ ।

कुल जनसंख्यालाई मतदाता संख्याले भाग गर्ने र त्यसमा आउने योगफललाई फेरि हजारले भाग गरेर मतभार निकालिन्छ ।

 

कुल ५९ सदस्यीय राष्ट्रिय सभामा गोला प्रथाबाट एक तिहाइ सदस्यको कार्यकाल ६ वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको दुई वर्षको कार्यकाल निर्धारण गरिएको थियो । त्यही गोलाप्रथाबाट ६ वर्षको कार्यकाल पूरा गरेर आगामी फागुन २० गते एक तिहाइ सदस्यहरु बिदा हुन लागेकाले रिक्त स्थान पूर्ति गर्न माघ ११ गते निर्वाचन हुन लागेको हो ।

६ वर्षे कार्यकाल पूरा गरेर राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका सदस्यहरु बिदा हुँदैछन् ।

 

राष्ट्रिय सभामा पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै निर्वाचन गर्ने कानुनी व्यवस्था छ । यसरी राष्ट्रिय सभा कहिल्यै रिक्त नहुने भएकाले यसलाई स्थायी सदन पनि भनिन्छ ।