२०८३ जेठ १३ , बुधवार

खजुराको घिया गाउँमा बन्दैछ ‘होमस्टे’

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
पर्यटन क्षेत्रमा टेवा पु¥याउने उद्देश्यले बाँकेको खजुरा गाउँपालिकाले आफ्नै लगानीमा घिया गाउँमा घरबास ‘होमस्टे’ सहित पर्यटकीयस्थल बनाउने भएको छ । गाउँपालिकाको लगानीमा वडा नं ८ स्थित घियागाउँको मुक्तकमैया बस्तीमा होमस्टे बनाउन लागिएको हो ।

विसं २०६२–६३ को जनआन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको घिया गाउँलाई पर्यटकीयस्थल बनाउन भन्दै पालिकाले यस वर्ष पूर्वाधार विकास तथा डिपीआर निर्माण गर्न रु २५ लाख बजेट बिनियोजन गरेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादु विकले जानकारी दिनुभयो । पूर्वाधार विकासअन्तर्गत अहिले गाउँमा माघी मेलाको आयोजना गरिएको छ । पालिकाका अध्यक्ष विकले ऐतिहासिक घिया क्रान्तिपुर तालको संरक्षण गर्ने र ताल पर्यटनको विकास गर्दै मुक्त कमैया बस्तीमा होमस्टे निर्माण गरिने बताउनुभयो ।

उहाँले देश विदेशका आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्नेगरी १६ बिघा जग्गामा ताल निर्माण गरी त्यस वरिपरि मुक्त कमैयाहरुले आफैँ सञ्चालन गर्ने गरी होमस्टे बनाइने बताउनुभयो । यस वर्ष स्थानीय अगुवालाई देशका उत्कृष्ट होमस्टेको भ्रमण गराइने तथा पर्यटनसम्बन्धी तालिम प्रदान गरिने पालिकाको योजना रहेको छ ।

जिल्लाको बैजनाथ र खजुरा गाउँपालिकाको सिमानामा पर्ने घिया तालको विकास र संरक्षण गर्न अन्तरपालिका समन्वय गरिने अध्यक्ष विकले बताउनुभयो । साबिकको रनियापुर गाविस र हाल खजुरा गाउँपालिका–७ र ८ वडामा सिँचाइ गर्न पुग्ने १६ बिघा क्षेत्रफलको प्राकृतिक ताल हाल अतिक्रमणको चपेटामा परेको छ ।

थारू समुदायको बाहुल्य रहेको घिया र मुस्लिम समुदायको बाक्लो बसोबास रहेको रनियापुरलाई पर्यटनको केन्द्र बनाउन पालिकाले यसै वर्षदेखि बजेट विनियोजन गरेको गाउँपालिकाले जनाएको छ ।  रासस