२०८१ जेठ ४ , शुक्रवार

मेलम्चीको पानी वितरण समस्या समाधानका लागि सहजीकरण समिति गठन

Melamchi

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले  मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि सहजीकरण समिति गठन गरेको छ । मन्त्रीस्तरको निर्णय अनुसार समस्या समाधानका लागि मेलम्ची खानेपानी विकास समितिका सीडीई पदमबहादुर कुँवरको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।

 

समितिको सदस्यहरूमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का उपप्रवन्धक उमेशबाबु मरहट्ठा, आयोजना कार्यान्वयन निर्देशनलायका सीडीई विकेश बधानथ्याचे र केयूकेएलकै दिपेश ढकाल रहेका छन् ।

 

मेलम्चीको पानी हाल परीक्षण भएका नयाँ र पुरानै वितरण लाइनबाट वितरण गरिएको छ । ती लाइनबाट सन्तुलित रुपमा पानी वितरण तथा चुहावट भएरनभएको, धमिलो पानी आएकोबारेमा समितिले अनुगमन गर्नेछ ।

 

समितिले पानी सुन्दरीजलमा विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार प्रशोधन गरी वितरण गरिएको तर पुराना लाइनका कारण धमिलो आएकोले केही शंका नगर्न समेत अपिल गरेको छ ।

पुराना लाइनबाट लामो समय पानी वितरण नहुँदा माटो जमेकोले प्रारम्भिक चरणमा पानी धमिलो आउने समस्या देखिएको छ भने केही ठाउँमा वितरण प्रणाली कमजोर हुँदा चुहावट भइरहेको छ । मेलम्ची खानेपानी विकास समितिले यसको समाधान गर्ने जनाएको छ ।