
सुनाखरी न्युज/ काठमाडौं ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गोला ढुङ्गा र काँचो माटोबाट बनेका घर निर्माण गर्न प्रोत्साहन नगर्न अनुरोध गरेको छ । गोला ढुङ्गा र काँचो माटोबाट बनेका घर भूकम्पबाट अति जोखिममा रहने भएकाले यस्ता घर निर्माणमा कसैलाई पनि प्रोत्साहन नगर्न अनुरोध गरेको हो ।
जाजरकोट भूकम्पमा परेर क्षति भएका घरहरु यस्तै ढुङ्गा र काँचो माटोबाट बनेका धेरै रहेको बताउँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले यसतर्फ सर्वसाधारण पनि आफैँ सचेत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सरोकारवाला निकाय तथा स्थानीय तहले यस्ता घर निर्माणमा प्रोत्साहन गर्न नहुने बताउनुभयो ।
पोखरेलले कर्णाली प्रदेशमा यस्ता काँचो माटो र डल्लो ढुङ्गाबाट बनेका घरहरु करिब ८० प्रतिशत रहेको जानकारी गराउँदै अब गोला ढुङ्गाबाट घर नबनाउन अनुरोध गर्नुभयो । “स्थानीय स्रोत साधनबाट पनि राम्रा र बलिया घरहरु बन्छन् । भूकम्प प्रतिरोधी घर निर्माणका लागि आवश्यक ज्ञान सीप दिन जरुरी छ”, उहाँले भन्नुभयो, “घर कसरी बलियो र भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भन्ने ज्ञानको अभाव देखिएको छ । जसले चुनौती खडा गरिरहेको छ, अब पालिकालाई त्यो सीप र ज्ञान प्रदान गरेर नागरिकसम्म पु¥याउनुपर्छ ।”
प्रमुख कार्यकारी अधिकृत पोखरेलले प्राधिकरणले अब गोला ढुङ्गाबाट घर बनाउने चलनलाई अन्त्यका लागि योजना बनाएर अघि बढ्ने बताउनुभयो । उहाँले विपद् व्यवस्थापनको प्रमुख जिम्मा स्थानीय तहको बढी हुने भएकाले पालिकाले यस विषयमा बढी ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।तीनै तहका सरकारसँगको समन्वयमा मात्रै विपद् व्यवस्थापनका काम प्रभावकारी गर्न सकिने प्राधिकरणको भनाइ छ ।
“जाजरकोट बारेकोटमा हेर्दा खानीका ढुङ्गा प्रयोग भएको पाइएको छ । जहाँ खानीका ढुङ्गा प्रयोग भएका छन्, त्यहाँ क्षति कम भएको देनिन्छ । जहाँ गोला ढुङ्गा प्रयोग भएका छन् त्यहाँ क्षति बढी भएको छ”, पोखरेलले भन्नुभयो । भूकम्प प्रतिरोधी घर निर्माणमा सर्वसाधारणलाई प्रोत्साहन गर्न प्रधिकरणले योजना बनाइरहेको उहाँले जानकारी दिनुभयो ।
प्राधिकरणले गोला ढुङ्गालाई काट्ने फलामको आरोको बन्दोबस्त गर्ने जनाउँदै पोखरेलले सहरी विकास मन्त्रालय तथा प्राधिकरणले पुनःनिर्माणमा उक्त आरोको प्रयोग गरी निर्माण सामग्री तयार गर्ने गर्ने योजना बनाइरहेको बताउनुभयो । “इन्टरलकिङ्का इँट्टका घरहरु २०७२ को भूकम्पमा प्रयोग गरिएको थियो । अहिले ती घर सुरक्षित छन् । गोला डुङ्गाका घर भने भूकम्पीय जोखिममा छन्”, उहाँले भन्नुभयो, “त्यसैले यस्ता घर निर्माण नगर्न प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।” रासस