२०८१ जेठ २ , बुधवार

बहुवर्षीय आयोजना कार्यान्वयनमा ल्याउन थालियो

sunakhari2502

सुनाखरी न्युज/ काठमाडौं ।
गण्डकी प्रदेश सरकारले म्याग्दीमा सञ्चालन गर्न लागेका बहुवर्षीय सडक आयोजनाको कार्यान्वयन सुरु भएको छ । आर्थिक वर्ष २०८०÷०८१ मा जिल्लामा गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट बजेट स्वीकृत भएका ती योजना ठेक्कामार्फत कार्यान्वयन गर्न लागिएको हो ।

बहुवर्षीय योजनाका लागि छनोट भएर स्रोत सुनिश्चित गरिएपछि बेनी–तोरीपानी सडक रु २० करोड र म्याग्दीको पश्चिम भेग हुँदै जाने दरबाङ–मुना–ढोरपाटन सडक योजनालाई रु २५ करोड बजेटबाट स्तरोन्नति गर्न ठेक्का आह्वान गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर विष्णु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष तोरीपानी सडकलाई रु चार करोड र मुना सडकलाई रु पाँच करोड बजेट प्राप्त भएको छ ।

बेनी–अथुङ्गे–तोरीपानी हुँदै पाखापानी जोड्ने सडकखण्डअन्तर्गत नेप्टेचौरसम्म सडक कालोपत्रे गर्ने र त्यहाँदेखि तोरीपानीसम्म ढलान, ग्राभेल, नाली निर्माण गरेर सडक स्तरोन्नति गरिने कार्यालय प्रमुख पौडेलले बताउनुभयो । “यो सडकखण्डमा बेनी नगरपालिकाले सडक स्तरोन्नति गर्ने योजना अघि बढाएको छ, नगरपालिकाले काम गर्ने ठाउँदेखि अघिबाट हामीले काम गर्ने गरी लागत स्टिमेट बनाएका छौँ, यो योजनाबाट चार दशमलव तीन किलोमिटर सडक स्तरोन्नति गरिने लक्ष्य छ”, प्रमुखले भन्नुभयो ।

धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने दरबाङ–मुना–ढोरपाटन सडकको ताकम धारापानीदेखि सिवाङसम्म छ किलोमिटरभन्दा बढी सडक फराकिलो, नाली निर्माण, ग्राभेल र ढलान गरी सडक स्तरोन्नति गर्न रु २५ करोडमा ठेक्का आह्वान गरिएको छ । यस सडकखण्डको ताकम बस्तीमा सडकलाई कालोपत्रे गरिने कार्यालयले जनाएको छ ।

यस वर्ष कार्यान्वयन गर्न लागिएका सात योजनामध्ये स्रोत सुनिश्चित भएर ठेक्का आह्वान भएका यी दुई योजनालाई आगामी चैत महिनादेखि निर्माण व्यवसायीलाई कार्यक्षेत्रमा परिचालन गर्ने गरी तयारी थालिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट प्राप्त बजेटमार्फत यस वर्ष जिल्लामा बहुवर्षीय योजनाअन्तर्गत पाँच वटा सडकका योजना र दुई वटा पुल गरी सात वटा ठूला योजना कार्यान्वयनका लागि प्रक्रिया अगाडि बढेको गण्डकी प्रदेश सभासदस्य हरिबहादुर भण्डारीले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारबाट मालिकाको दरबाङ–बिम–दिच्याम सडक स्तरोन्नतिका लागि रु चार करोड बजेट विनियोजन भएको छ । मङ्गलाको पोखेर–बरन्जा हुँदै बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक र बेनीको हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै मुसुङ सडक योजनाका लागि रु दुई÷दुई करोड बजेट विनियोजन भएको छ ।

यसैगरी मालिकाको दरबाङ–अदिभरा, डाँडागाउँ–सोले हुँदै बागलुङको तमान बुर्तिबाङ जोड्ने सडक योजनाका लागि रु दुई करोड विनियोजन भएको छ । यस्तै सडक पुलतर्फ धौलागिरि गाउँपालिकाको खोरियादेखि लमसुङ जोड्न दरखोलामा मोटरेबल पुल निर्माणका लागि रु ८० लाख, मालिका गाउँपालिका–७, बिम र धौलागिरि गाउँपालिका–६, मराङ जोड्ने शिवरात्रि खोलामा पुल निर्माणका लागि रु ५० लाख बजेट विनियोजन भएको छ ।

विनियोजित बजेटलाई कूल अनुमानित लागतको २० प्रतिशत मानेर स्रोत सुनिश्चित गरी बहुवर्षीय ठेक्कामार्फत योजना कार्यान्वनयमा लैजान थालिएको प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताउनुभयो । “धेरै भूगोगलाई समेट्ने गरी सडक र पुलतर्फका योजनालाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजान पहल गरेका छाँै, हिउँदयाममा नै कार्यान्वयनमा जाने गरी बजेट व्यवस्थापन र स्रोत सुनिश्चित गराउनेतर्फ हाम्रो जोड रहेको छ, दुई बहुवर्षीय योजनामा ठेक्का लाग्यो, अरु प्रक्रियामा छन्”, उहाँले भन्नुभयो ।

प्रदेश सरकारबाट यस वर्ष म्याग्दीमा छ वटा क्रमागत योजनासहित ५५ वटा सडक योजनाको लागि बजेट विनियोजन भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार नौवटा योजनाको सम्झौता भएको छ भने १० वटा ठेक्का प्रक्रियामा छन् । धौलागिरि गाउँपालिका–१ गुर्जालाई सडक सञ्जालले जोड्ने गरी रु दुई करोड बजेट विनियोजन भएको र लुलाङ–गुर्जा मोटरबाटोका लागि विनियोजित रकम कार्यान्वनय गर्न गाउँपालिकालाई नै अख्तियारी दिइएको छ ।  रासस