२०८१ बैशाख ३० , आइतवार

जाडो बढ्यो, काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन

weither

सुनाखरी न्युज/ काठमाडौं ।

पछिल्ला दिनमा देशभर जाडो बढ्दै गएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार  काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज ३.५ डिग्री सेल्सियसमा झरेको छ । हिजोको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस थियो । पौने ९ बजे झन् घटेर ३.५ डिग्री सेल्सियस मापन भएको र यो यस सिजनको अहिलेसम्मको सबैभन्दा कम तापक्रम भएको झाले बताए ।

 

न्यूनतम तापक्रम घटेकाले आज काठमाडौंमा अन्य दिनको तुलनामा जाडो पनि धेरै महसुस भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात तथा तराई मधेशमा हुस्सु कुहिरो लागिरहेको छ ।

 

पश्चिमी वायुको प्रभावले केही बदली पनि भइरहेको छ । यसले कुहिरो हटाउन मद्दत गर्ने भए पनि तत्काल पानी पर्ने सम्भावना भने नरहेको मौसमविदहरुले बताएका छन् ।