२०८१ बैशाख २१ , शुक्रवार

मध्यवर्ती क्षेत्रका जनताको समस्या बुझ्दै प्राकृतिक स्रोत समिति

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
बाँके र बर्दियामा निकुञ्जको मध्यवर्ती क्षेत्रका जनताले भोग्नुपरेको समस्या बुझ्न प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको टोली खटिएको छ ।

प्राकृतिक स्रोत समितिले निकुञ्ज मध्यवर्ती क्षेत्रका जनता, जनप्रतिनिधिलगायत सरोकारवालासँग बुधबार बाँके र बिहीबार बर्दियामा छलफल गर्ने भएको छ । मध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आएका जनताले जङ्गली जनावरलगायत निकुञ्जका कारण भोग्नुपरेको वास्तविक समस्या बुझ्न समितिका सभापति डा आरजु राणाको नेतृत्वमा छ सदस्यीय टोली छलफलमा सहभागी हुने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य एवं बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रका जनताले भोग्नुपरेको समस्याका बारेमा आज दिउँसो कोहलपुर नगरपालिकाको चप्परगौडीमा अन्तक्र्रिया तय गरेको छ । अन्तक्र्रियामा सरोकार भएका निकायको तर्फबाट निकुञ्जका अधिकारी, मध्यवर्ती क्षेत्रका जनता, राप्ती सोनारी र कोहलपुर नगरपालिकाका जनप्रतिनिधिलाई सहभागिताका लागि अनुरोध गरिएको छ । समितिले आजै ३ देखि ५ बजेसम्म कोहलपुरस्थित भेरी शीतभण्डारमा सहकारीसम्बन्धी छलफल गर्ने कार्यक्रम तय भएको छ ।

बाँके राष्टिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा राप्ती सोनारी गाउँपालिकाको वडा नं १, २, ८ र ९ तथा कोहलपुर नगरपालिकाको १२ र १३ नं वडा रहेका छन् । मध्यवर्ती क्षेत्रका बासिन्दाले भोग्दै आएको समस्या मिनी संसद्का रूपमा चिनिने प्रतिनिधिसभा, प्राकृतिक स्रोत समितिमा राख्न पाउने अवसर पाएका छन् ।जनताले वास्तविकरूपमा भोग्दै आएका समस्यालाई प्रत्यक्ष हेरेर, बुझेर उहाँहरूले दिएको सुझावलाई ग्रहण गरिने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य एवं बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य ढकालले उल्लेख गर्नुभयो ।

राप्ती सोनारी गाउँपालिकाको मध्यवर्ती क्षेत्रमा पर्ने वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यले गाउँपालिकाले समितिको कार्यक्रमलाई प्राथमिकता दिएर स्थानीय सरकारको तर्फबाट राय–सुझाव दिई राज्यको ध्यानाकर्षण गर्न माग गरेका छन् ।राप्ती सोनारी गाउँपालिका कार्यपालिका सदस्य एवं वडा नं ९ का वडाध्यक्ष सोहनलाल थारूले समितिले जिल्लामै आएर मध्यवर्ती क्षेत्रका जनताले भोग्दै आएको समस्याका बारेमा छलफल गर्नु सकारात्मक भएको बताउनुभयो । रासस