२०८१ बैशाख २० , बिहिवार

बन्दीपुरको चुनपहरामा चट्टान आरोहण

pahad

सुनाखरी न्युज /  काठमाडौं ।

बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले पर्यटकहरु चट्टान आरोहणका लागि आउने गरेका छन् । यसबाट यस आम्दानी पनि हुन थालेको छ ।उक्त पहरामा विसं २०६० देखि चट्टान आरोहण सुरु भएको हो । पहरामा एक सय ६० वटा फलामे नटबोल्ट गाडिएका छन् । त्यही नटबोल्टमा झुण्डिएर आरोहीले चट्टान आरोहण गर्छन । आन्तरिक एवं बाह्य पर्यटक गरी हालसम्म एक लाखभन्दा बढीले चट्टान आरोहण गरिसकेको बिमलनगर सिद्धगुफा विकास समितिका अध्यक्ष लालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 

यस पहरामा आरोहणका लागि रु एक सय शुल्क कायम गरिएको छ । विदेशी तथा स्वदेशी पर्यटकहरु चट्टान आरोहण गर्न यस स्थानमा पुग्ने गर्दछन् । पहरामा अठ्ठाइस वटा रुटको व्यवस्था गरिएको बिमलनगर सिद्धगुफा विकास समितिले जनाएको छ । एकै पटकमा अठ्ठाइस जनाले चट्टान आरोहण गर्न सक्छन् । “यही पुस २० गतेदेखि नेपाली र जापनीज एक एक टोली चट्टान आरोहणका लागि आउने भएको छ”, उहाँले भन्नुभयो, “नेपाली सेना, सशस्त्र र कमाण्डो तालिम गर्ने बाहेक अन्यलाई शुल्क लिने गरिएको छ ।” पृथ्वीराजमार्ग बिस्तारका क्रममा चुनपहरा भत्काउन लागेपछि पहराको अस्तित्व संकटमा पर्ने देखिएपछि स्थानीयको पहलमा पहरा सुरक्षित गरिएको उहाँले बताउनुभयो ।

 

राजमार्ग चार लेनको बनाउँदा पनि चुनपहरालाई कुनै असर नपर्ने गरी व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । मस्र्याङ्दी नदी किनारबाट पर्खाल लगाएर सडकको मापदण्ड पूरा गर्न लागिएको उहाँको भनाइ छ । “चट्टान आरोहणका लागि प्रशिक्षणस्थल समेत रहेको यस पहरा भत्काएको खण्डमा अहिले भइरहेका साहसिक पर्यटकीय गतिविधि रोकिने हुनाले स्थानीयको पहलमा संरक्षण गरिएको हो”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

 

यस चुनपहरा बचाउँ अभियानका संयोजक समेत रहनुभएका श्रेष्ठले स्थानीयले कुनैपनि हालतमा चुनपहरा बचाउनुपर्ने चाहना राखेर अघि बढेका कारण जोगाउन सफल भएको उहाँले बताउनुभयो । “चुनपहरा हाम्रो गहना हो । यो पहरा काटियो भने यसले पर्यटनमा ठूलो असर पर्ने देखियो”, उहाँले भन्नुभयो “यस पहराले पर्यटनमा दिएको योगदान कम्तिको छैन । पहरा बचाउनको लागि भनेर केन्द्रसम्म धाएर लागेका थियौं ।”रासस