२०८३ श्रावण ३० , शनिवार

सङ्घर्ष गर्दै सफल व्यवसायी

sunakhari2502

सुनाखरी न्युज / काठमाडौँ ।
रामेछापको दुर्गमस्थान साँघुटारका पाँच दाजुभाइमध्ये काइँलो सन्तानका रूपमा जन्मनुभएका होतराज ढकाल सङ्घर्षशील तथा मेहनती सफल युवा व्यवसायीमा पर्नुहुन्छ । साँघुटारजस्तो विकट ठाउँमा बुवाआमाले जसोतसो एसएलसीसम्म पढाए पनि त्यस भन्दामाथि पढाउन न त गाउँमा क्याम्पस थियो न त सहर पठाउन पर्याप्त पैसा नै । घरको कमजोर आर्थिक अवस्थाका कारण उहाँले गाउँमै २०६३ सालदेखि व्यावसायिक क्षेत्रमा हात हाल्नुभएको थियो । त्यसयता उहाँले सोही क्षेत्रलाई निरन्तरता दिँदै आउँदा अहिले ढकाल सफल व्यवसायी बन्नुभएको छ ।

साँघुटारमा साधना राइस मिलबाट आफ्नो व्यवसाय सुरु गर्नुभएका ढकालले केहीसमय साँघुटार बजारमैै आलु र अण्डाको व्यापार पनि गर्नुभयो । ओखलढुङ्गा र रामेछापको सिमाना भएर बग्ने लिखु नदी किनारमा रहेको साँघुटार बजारमा शनिबार लाग्ने हाटमा मान्छेको असाध्यै भीड हुने भएकाले सामान पनि पर्याप्त बिक्री हुन्थ्यो ।

दुःख र सङ्घर्षपूर्ण व्यापार गर्दै आफ्नो शैक्षिक योग्यतालाई समेत अगाडि बढाउँदै उहाँले जिल्ला सदरमुकाम मन्थलीको भैशेश्वर चोक नजिक आठ आना जग्गा किन्नुभयो । स्नातक पास गर्नुभएका ढकाल जिल्ला सदरमुकाममा बसेर तीन छोरीलाई राम्रो शिक्षा दिक्षा दिने र व्यापार पनि गर्ने सोचका साथ मन्थली झर्नुभयोे । मन्थलीमा कुखुरापालन हुँदै दाना र चल्ला सप्लाई गरी उहाँले घर निर्माणको काम पनि सुरु गर्नुभयो ।”

घरको प्रारम्भिक चरणको काम सक्ने वित्तिकै विसं २०७० मा कुटानीपिसानी मिल राखेर श्रीमतीलाई त्यसको रेखदेख गर्न लगाएर र ढकाल आफैँले चल्ला र दाना बेच्ने काम गर्नुभयो । दाना र चल्लाको व्यापार मन्थलीमा राम्रो हुँदै गएपछि छुट्टाछुट्टै काम गर्न उहाँहरुले भ्याउनुभएन । ढकालले सात वर्षपछि मिल बिक्री गरेर दुबैजना चल्ला र दाना बिक्री गर्ने काममै व्यस्त हुनुभयो । सङ्घीय संरचना लागूदेखि मानिसको चहलपहल जिल्ला सदरमुकाम र आसपासको क्षेत्रमा हुन छाडेकाले दैनिक दाना पसलको ब्यापार घट्ने तथा उधारो माग्नेको सङ्ख्या बढ्ने हुन थालेपछि उहाँले महालक्ष्मी कृषि तथा पशुपालन फार्म साँझेदारीमा दर्ता गराउनुभयो ।

बीस वर्षदेखि खेतीपाती नगरिएको सुकाजोर खोला (हाल रामेछाप नगरपालिका–८) को किनारमा रहेको ६० रोपनी जग्गा १५ वर्षका लागि भाडामा लिएर ढकालले गाई, कुखुरा बङ्गुर माछा फलफूल र तरकारी खेतीका लागि आवश्यक संरचना निर्माण गर्नुभयो । अहिले उहाँको फार्ममा १३ गाई, आठ बाच्छाबाच्छी, एक हजार पाँच सय ब्रोइलर कुखुरा, एक सयभन्दा बढी लोकल कुखुरा, ५० भन्दा बढी बाख्रा, पचास वटा हाँस, केही बङ्गुर, माछा, तरकारी, फलफूल, ड्रागन फुड पनि देख्न सकिन्छ ।

कृषि फार्मका अर्का लगानीकर्ता हीरालाल आचार्यले सोही ठाउँमा मेवा लगाएर त्यसको आम्दानी लिन थालिसक्नु भएको छ भने कागती र केराले पनि उत्पादन दिने तयारीमा गरिरहेको छ । बङ्गुर र कुखुराले पनि आम्दानी दिन थालेको छ । उहाँ अहिले एक सय १२ लिटर दूध दैनिक बिक्री गर्नुहुन्छ ।

यसरी व्यवसायमा सङ्घर्षपूर्ण यात्रा गर्दै ढकालले अहिले मन्थलीको भैशेश्वर चोकमा पाँचतले घर बनाउनाका साथै दुई छोरीलाई काठमाडौँमा राखेर उच्च शिक्षा अध्ययन गराउनुभएको छ भने जेठी छोरीलाई पनि स्नातकसम्मको अध्ययनपछि बिवाह गराइसक्नुभएको छ । हाल उहाँ आफू पनि नेकपा (एमाले)को जिल्लास्तरिय उपसचिवको जिम्मेवारीमा हुनुहुन्छ । ढकालको फार्ममा तीनजनाले रोजगारी पाएका छन् भने श्रीमान् श्रीमतीले पनि फार्ममै समय दिने गर्नुभएको छ । उहाँले भन्नुभयो, “जाँगर हुनेले नेपालमै बसेर पनि केही गर्न सक्छन् तर जाँगर नहुने र काम गर्न लाज मान्ने चाँही विदेश जाने हुन् ।” त्येसैले वैदेशिक रोजगारीमा जानेहरुलाई स्वदेशमै केही गरांँै भनेर देखाउनका लागि पनि आफूले कृषिमै सङ्घर्ष गरेरै देखाएको हुँ।” रासस