२०८३ श्रावण ३० , शनिवार

स्वदेशमै रोजगारीको वातावरण बनाउन कर्णालीका युवाको माग

Capture

सुनाखरी न्युज / काठमाडौँ ।
सुर्खेत वीरेन्द्रनगर–३ का मानकुमारी विकका ३० वसन्त बितेका छन् । उहाँ बेलाबेलामा वैदेशिक रोजगारीका निम्ति भारत जानुहुन्छ । उहाँ पाककलामा पारङ्गत हुनुहुन्छ तर भारतमा निर्माण मजदुरका रूपमा श्रम बेच्नुहुन्छ । उहाँको सीपको स्वदेशमा सदुपयोग नहुँदा बाध्यतावश विदेशिनु परेको छ ।

छोराछोरीको शिक्षा, दीक्षा र लालनपालनका लागि भारत जानुको विकल्प आफूसँग नरहेको मानकुमारी बताउनुहुन्छ । उहाँभन्नुहुन्छ, “मैले होटेल सञ्चालन गर्न ‘कुक’को काम जानेको छु तर लगानी गर्ने ल्याकत नहुँदा विदेशिनुपर्ने बाध्यता छ सीप भएर मात्र नहुने रहेछ ।”

स्वदेशमै व्यवसाय गर्ने वातावरण बनाउन मानकुमारी सरकारसँग माग गर्नुहुन्छ । “म स्देशमै बसेर आफूले जानेको सीप प्रयोग गर्न चाहन्छु । त्यसका लागि मलाई सहयोग चाहिएको छ, यसमा वीरेन्द्रनगर नगरपालिकाले ध्यान दिनुपर्यो”, उहाँले भन्नुभयो । मानकुमारीजस्तै वडा नं ३ की धना नेपालीले पनि सिलाइबुनाइसम्बन्धी सीप जान्नुभएको छ । उहाँले पनि आफ्नो सीप प्रयोग गर्ने वातावरण पाउनुभएको छैन । धनाको परिवारको आर्थिक अवस्था कमजोर छ । रोगका कारण श्रीमान् काम गर्न नसक्ने अवस्थामा हुनुहुन्छ । घरपरिवारको जिम्मेवारी धनाको काँधमा छ । स्वदेशमै रोजगारीका लागि अनेक प्रयास गरे पनि नपाएपछि उहाँ पनि भारतमै गएर रोजगारी गर्नुहुन्छ । चार छोराछोरी, रोगी श्रीमान्का लागि धनाले भारतमा मजदुरी गर्नुको विकल्प छैन ।

“मैले सिलाइबुनाइको काम जानेको छु तर यहाँ काम नपाउँदा भारतमा मजदुरी गर्न बाध्य छु । एक वर्ष दुःख गरेर भर्खरै आएकी हुँ, उता कमाइ राम्रो हुँदैन, आफूले जानेको सीपको स्वदेशमै उपयोग गर्ने वातावरण बनाइदिनुपर्यो”, धनाले राज्यको ध्यानाकर्षण गराउँदै भन्नुभयो ।धनामात्रै होइन अन्य युवाले स्वदेशमै गरिखाने वातावरण सिर्जना गरिदिन सरकारसँग माग गरेका छन् । उनीहरूले नजानेकालाई सीप सिकाउने र सीप जानेकालाई काम गर्ने वातावरण सृजना गर्न माग गरेका हुन् ।

विश्व आप्रवासन दिवसका अवसरमा वीरेन्द्रनगरमा शनिबार भएको एक कार्यक्रममा सहभागी युवाले सीप र उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्न सके स्वदेशमै स्वरोजगार बन्न सकिने बताए । पछिल्लो समय वैदेशिक रोजगारीका कारण असुरक्षा र आपराधिक घटना बढ्दै गएको भन्दै उनीहरूले त्यसतर्फ पनि सचेत हुनुपर्नेमा जोड दिएका छन् । वैदेशिक रोजगारीमा पुरुषभन्दा महिला बढी सुरक्षा जोखिममा रहेका सहभागीको भनाइ थियो ।रासस