२०८१ बैशाख १७ , सोमवार

जलवायु परिवर्तनको प्रभावः चिसो मौसममा पनि डेंगु

dengu

सुनाखरी न्युज/ काठमाडौँ ।
चिसो मौसममा पनि नेपालमा पछिल्लो समय  डेंगु संक्रमण देखिन थालेको छ । जलवायु परिवर्तन, बसाइँसराइ, कम तापक्रममा बाँच्न सक्ने क्षमताको विकास लगायतका कारण चिसोमा समेत डेंगु देखिन थालेको जनस्वास्थ्यविद्ले बताएका छन् ।

डेंगु सार्ने लामखुट्टे गर्मीमा बढी सक्रिय हुन्छन् । चिसो बढेसँगै डेंगुको संक्रमण केही घटे पनि निल नहुने जनस्वास्थ्यविद् डा. शरद वन्त बताउँछन् । ‘डेंगु सार्ने भेक्टर वा सम्वाहक गर्मीमा बढी सक्रिय हुन्छन्,’ उनले भने, ‘चिसो मौसममा डेंगु हुँदै नहुने होइन तर केही कम हुन्छ ।’

पहाडी र हिमाली क्षेत्रमा पनि कीटजन्य रोगका लागि उपयुक्त वातावरण बन्दै गएको डा। वन्तको भनाइ छ । ‘पहिला पाँच हजार फिटको उचाइभन्दा माथि डेंगु लाग्दैन भनिन्थ्यो,’ उनले भने, ‘सो उचाइमा डेंगु सार्ने लामखुट्टेको अस्तित्व हुँदैन भन्ने गरिन्थ्यो, हाल हिमाली जिल्लामा पनि डेंगु देखिन थालेको छ ।’

गर्मीमा लामखुट्टेको टोकाइबाट जोगिन आम मानिसले बढी चासो दिए पनि चिसोमा खासै ध्यान नदिँदा डेंगुको संक्रमण हुने जोखिम बढ्ने डा. वन्तको अनुमान छ ।

 

२०७९ पुस यता देशभर ५१ हजार २ सय ४३ जनामा डेंगु संक्रमण देखिएको छ । डेंगुका कारण २० जनाको मृत्यु भइसकेको छ । हाल देशका १६ जिल्लामा पाँच सयभन्दा बढी संख्यामा डेंगु संक्रमित छन् । सबैभन्दा बढी सुनसरीमा १६ हजार १ सय ७५ जनामा डेंगु संक्रमित छन् । त्यस्तै, तनहुँमा ७ हजार १ सय ९३, झापामा ३ हजार ८ सय २५, धादिङमा ३ हजार २ सय ३९, कास्कीमा ३ हजार ६९ डेंगु संक्रमित छन् ।

यस्तै, मोरङमा २ हजार ३ सय २८, काठमाडौँमा २ हजार ७६, संखुवासभामा १ हजार १ सय ५५ जना संक्रमित छन् । कैलालीमा ९ सय ९४, गोरखामा ७ सय ६१ जना संक्रमित छन् । भक्तपुरमा ६ सय ३०, धनकुटामा ६ सय ५, पाँचथरमा ५ सय ६४, ललितपुरमा ५ सय ४३, बाग्लुङमा ५ सय ४० र स्याङ्जामा ५ सय २ जना डेंगु संक्रमित छन् ।

देशका ७७ जिल्लामै डेंगु संक्रमित रहेको इडीसीडीको तथ्यांकमा उल्लेख छ ।

 

डेंगु कसरी सर्छ ?

डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् । गर्मी याममा बढी सक्रिय हुने एडिस जातको लामखुट्टे पछिल्लो समय चिसोमा पनि हुन थालेको डा।पुनले बताए । एडिस जातको लामखुट्टेले संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने उनको भनाइ छ ।

डेंगु हुँदा उच्च ज्वरो आउने, जोर्नी र मांशपेशीहरु, आँखाका गेडी र टाउको दुख्ने, शरीरमा राता बिमिराहरु आउने, वाकवाकी लाग्ने वा बान्ता हुने लक्षण विशेष रुपमा देखिए पनि पछिल्लो पटक डेंगुको लक्षणमा पखाला पनि देखिएको डा। पुनले रातोपाटीलाई बताए ।

‘डेंगुले ज्वरो आउनु सामान्य लक्षण भएजस्तै धरानमा डेंगु संक्रमितहरुलाई पखाला भएको पाइएको छ,’ उनले भने, ‘मौसम अनुसार होइन कि कुनै पनि रोगको केही समयपछि फरक लक्षण देखिन्छन्, त्यो अनुसन्धानको विषय पनि हो ।’

 

डेंगुको संक्रमणबाट कसरी जोगिने ?

डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाएका छन् । जाडो समयमा डेंगु नलाग्ने भन्दै बेवास्ता नगर्न डा।पुनले आग्रह गरे । उनले लामखुट्टेको टोकाइबाट जोगिने उपाय नै अपनाउनु पर्ने उल्लेख गरे ।

सावधानी अपनाउनुपर्ने विषय

–पूरै शरीर ढाक्ने लुगा लगाउने ।

–बिहान, दिउँसो, राति जुनसुकै बेला पनि झुल लगाएर मात्र सुत्ने ।

–दिउँसो पनि लामखुट्टेको टोकाइबाट बच्न मलम लगाउने ।

–आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने ।

–पानी भरेका भाँडाहरु जस्तै ड्रम, ट्याङ्की, बाटा, बाल्टिन, आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने ।

–घर, विद्यालय अँध्यारो कुना काप्चा जस्तै पर्दा पछाडि, खाटमुनि, शौचालयभित्र, डेस्क, बेन्चमुनि आदि जस्ता ठाउँहरुमा कीटनाशक औषधि छर्किने ।

–घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।