२०८१ बैशाख १६ , आइतवार

कृषि पेसामा रमाएका दम्पती

Capture

सुनाखरी न्युज / काठमाडौं ।
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–४ जुगेपानीका चन्द्रबहादुर खड्का र उहाँकी श्रीमती लालकुमारीले खड्का कृषि पेसामा रमाएका छन् । बाउन्न वर्षीय चन्द्रबहादुर ३७ वर्षको हुँदादेखि कृषि पेसामा आवद्ध हुनुहुन्छ ।

अहिले पनि उहाँको कृषि पेसा प्रतिको जागर र लगाव देख्दा युवाअवस्थाको भन्दाकम छैन् । खड्का दम्पतीले खाना बस्न भन्दा पनि बारीमा उत्पादित तरकारी र फलफुलको बढी चिन्ता लाग्ने गरेको सुनाउँछन् ।सुन्तला टिप्ने सिजन आएकाले कामको चाप झन बढेको चन्द्रबहादुरले बताउनुभयो । “बगैँचा नजिकै एउटा सानो बस्न मिल्ने घर छ । जाडोको समय यहाँ रातभर बस्न सकिँदैन, त्यसैले ११÷१२ बजेतिर आएर कसैले सुन्तला चोरी गरेका छन्÷छैनन् हेरेर जान्छु । अहिले सिजन भएकाले बारीको रेखदेख गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

चन्द्रबहादुरको बारीमा तरकारीका साथै विभिन्न प्रकारका फलफुल खेती हुने गरेको छ । उहाँको बारीमा प्रवेश गर्नेलाई वरपरको वातावरण अवलोकन गर्दा आनन्द महसुस हुने स्थानीय बताउँछन् । बारीमा सुन्तला बगैँचाका साथै अमिलो, कागती, अलैँची, टिमुर, काठको मुढामा उत्पादन हुने सिताके च्याउ, गोलभेँडा, बन्दागोभी फूलगोभी, खुर्सानी तथा विभिन्न घाँस र फलफुलका नर्सरी राखेर बिक्री गर्ने गरिएको उहाँले बताउनुभयो ।
“विगत १५ वर्षदेखि कृषि पेसामा आवद्ध छौँ । पहिले सानो छँदा बाबाले थोरै जग्गामा सुन्तला लगाउनु भएको थियो । बाबाले लगाएको सुन्तलाको उत्पादन देखेर व्यावसायिक रुपमा सुन्तला खेती गर्ने हौसला मिलेको हो”, चन्द्रबहादुरले भन्नुभयो, “मेरो काममा श्रीमतीले सधैँ साथ छ । काम विशेषले घरबाहिर घुम्न जान्नुपर्यो भने खेतबारी तथा बगैँचाको रेखदेख श्रीमतीले गछिन् ।”

खड्का दम्पतीको सात जनाको परिवारमा दुई छोरीको विवाह भइसकेको छ । एक छोरी र एक छोरा पढाइको सिलसिलामा जिल्ला बाहिर बस्छन् भने एक छोराले रोजगारी गर्छन् ।

कृषि पेसामा निकै खुसी मिलेको चन्द्रबहादुरको भनाइ थियो । “कान्छो छोराले अमेरिका जान्छु भनिरहन्छ । म नेपालमै बसेर स्वरोजगार बन्न सकिन्छ भनेर नपठाउने योजनामा छु । म दुवै छोरालाई विदेश पठाउँदैन् । स्वदेशमै दुःख गरेर कमाउन सकिन्छ । उनीहरुलाई पनि व्यावसायिक कृषि पेसामा आवद्ध गराउने हो”, उहाँले भन्नुभयो । खड्काकी श्रीमती लालकुमारीले पनि छोराहरुले अर्काको देशमा दुःख पाउनु भन्दा आफ्नै ठाउँमा केही न केही गरेको हेर्ने रहर भएको सुनाउनुभयो ।

मनै लोभ्याउने सुन्तला बगँैचा

विसं २०६२ देखि व्यावसायिक सुन्तला खेती गर्नुभएका खड्काको बारीमा अहिले तीन हजार छ सय सुन्तलाका बोट छन् । जसमध्ये करिब पाँच सय बोटले फल दिन सुरु गरिसकेका छन् । अन्य साना बोटले पनि दुई वर्षभित्र फल दिन सुरु गर्ने चन्द्रबहादुरले बताउनुभयो । गतवर्ष ३६ क्विन्टल सुन्तला उत्पादन भएकामा यस वर्ष राम्रो फल लागेकाले ५० क्विन्टल बिक्री गर्ने योजना रहेको उहाँको भनाइ थियो ।

गतवर्ष सुन्तला बिक्रीबाट रू तीन लाख ७५ हजार कमाइ भएको जनाउँदै चन्द्रबहादुरले यस वर्ष दोब्बर आम्दानी हुने आशा गरिएको बताउनुभयो । बारीबाटै रू ४५ देखि ५० सम्म प्रतिकिलो बिक्री हुने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार सुन्तला खरिद गर्न दाङ, सल्यानलगायत स्थानबाट व्यापारी आउने गरेका छन् ।

चन्द्रबहादुरले अलैँची, अमिलो, टिमुरलगायत फलफूलबाट पनि उत्तिकै आम्दानी गुर्नभएको छ । गत वर्ष अलैँची चार क्विन्टल भन्दा बढी अर्थात चार सय सात किलो बिक्री गरेर रू पाँच लाख आम्दानी गर्नुभएको सुनाउनुभयो । अलैँची पनि गाउँबाटै प्रतिकिलो रू एक हजार तीन सयमा बिक्री हुने गरेको उहाँको भनाइ थियो ।

हिउँदे तरकारीबाट तीन लाख र फूलफूलका (कागती, सुन्तला, अमिलो, डाले घाँस) नर्सरी बिक्रीबाट रू १७ लाख, खसीबोका बिक्रीबाट वार्षिक रू तीन लाख ५० हजार आम्दानी हुने गरेको चन्द्रबहादुरले जानकारी दिनुभयो । उहाँका अनुसार वार्षिक रू ३५ देखि ४० लाखसम्म आम्दानी हुने गरेको छ ।

चन्द्रबहादुरले ६२ रोपनीमा सुन्तला खेती विस्तार गर्नुभएको छ । बाँकी रहेको पाखो पारीमा पनि थप खेती विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । आफूले व्यावसायिक रुपमा कृषि पेसा गरे पनि वास्तविक कृृषि पेसामा आवद्ध किसानले अनुदानका कार्यक्रम नपाउने गरेकामा उहाँले दुखेसो पोख्नुभयो ।

अनुदानका कार्यक्रम आए पनि पहुँचवालालाई मात्र सम्मेटने गरिएको चन्द्रबहादुरको गुनासो थियो । धेरै मेहनतपछि कृषि विकास कार्यालय रुकुमपश्चिमबाट ५० प्रतिशत अनुदानमा एउटा टनेल, सिँचाइ पोखरी र बाख्रापालनको लागि भकारो सुधार कार्यक्रमअन्तर्गत अनुदानमा पाएको उहाँले जानकारी दिनुभयो ।

एकजनालाई रोजगारी

परिवारका सदस्यले मात्र घर तथा कृषि क्षेत्रको काम तथा बारीको रेखदेख गर्न नसकिने भएपछि खड्का दम्पतीले एकजनालाई वार्षिक रुपमा रोजगारी दिनुभएको छ । मासिक रू १२ हजारका दरले एक जना कामदारले काम गरिरहनुभएको उहाँले बताउनुभयो । कामको चाप बढेकाले थप कामदार राख्ने योजना बनाइएको उहाँको भनाइ थियो ।

“वार्षिक एकजना कामदार लगाए पनि सुन्तला टिप्ने सिजनमा भने एक हप्तासम्म १० जना भन्दा धेरै कामदार लाग्ने गरेका छन्”, चन्द्रबहादुरले भन्नुभयो । अलँैची खन्ने सिजनमा पनि थप कामदार लगाउने गरेको उहाँले बताउनुभयो । ग्रामीण सडक व्यवस्थित नहँुदा उत्पादन भएका तरकारी तथा फलफूल सडकसम्म पु¥याउन समस्या हुने गरेको उहाँको भनाइ थियो ।

सोही ठाउँका किसान टेकबहादुर खड्काले पनि सुन्तला र अलैँची मनग्य उत्पादन हुने गरेको बताउनुभयो । गत वर्ष २५ क्विन्टल सुन्तला र दुई सय ४० किलो अलैँची बिक्री गरेर रू पाँच लाख आम्दानी गरेको उहाँले बताउनुभयो ।

वडामा छैन तथ्याङ्क

किसानले उत्पादन तथा बिक्री गर्ने कृषिजन्यवस्तुको वडा कार्यालयले कुनै तथ्याङ्क राखेको छैन् । वडामा किसानले धेरै मात्रामा सुन्तला तथा अलैँची व्यावसायिकरुपमा खेती गर्ने गरे पनि कार्यालयले यकिन तथ्याङ्क नराख्दा कति रकम भित्रियो भन्ने विवरण नभएको हो ।

वडाका धेरै किसानले सुन्तला, अलैँची तथा अन्य तरकारी लगाउने गरेपनि यसको विवरण नरहेको वडा अध्यक्ष नन्नराम बाँठाले बताउनुभयो । “किसानले उत्पादन गरेको कृषिजन्यवस्तु आफैँ बिक्री गर्ने गरेका छन् । कति उत्पादन हुन्छ ? कति बिक्री गर्नुहुन्छ यसको वडामा विवरण छैन्”, उहाँले भननुभयो । उत्पादन गरिएका वस्तुको बजार व्यवस्थापन तथा अन्य समन्वयलगायत काममा वडाले सहयोग नगरेको उहाँको भनाइ थियो ।

एउटै वडाबाट रू एक करोड २० लाखको सुन्तला बिक्री

त्रिवेणी गाउँपालिकाको कृषि शाखा कार्यालयले भने ४ नं वडाका किसानले मात्रै गतवर्ष रू एक करोड २० लाखको सुन्तला बिक्री गरेका जनाएको छ । शाखा प्रमुख रमेश पुनका अनुसार वडामा व्यावसायिक सुन्लता खेती गर्ने ५० घरधुरी छन् ।

प्रत्येक किसानले पाँच रोपनी भन्दा बढी जग्गामा खेती गर्ने गरेका छन् । पाँच रोपनीमा ४० देखि ४८ क्विन्टल सुन्तला उत्पादन हुने गरेको पुनले जानकारी दिनुभयो । उहाँका अनुसार वडामा चार सय रोपनी अर्थात २० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ ।

गतवर्ष वडामा दुई हजार चार सय क्विन्टल सुन्तला उत्पादन भएको थियो । यसवर्ष सुन्तलाले फल राम्रो दिएकाले गतवर्ष भन्दा बढी उत्पादन हुने अनुमान गरिएको पुनको भनाइ थियो । गाउँबाटै प्रतिकिलो रू ५० का दरले व्यापारीले सुन्तला खरिद गर्ने गरेका भन्दै किसानलाई बजारको समस्या नरहेको कृषि शाखा प्रमुख पुनले जानकारी दिनुुभयो ।
रासस