२०८१ बैशाख १६ , आइतवार

उपभोक्तको रोजाइमा काठका सामान

Capture

सुनाखरी न्युज / काठमाडौं ।
नेपालमा पछिल्लो समय काठबाट निर्माण गरिएका सामान उपभोक्ताको रोजाइमा पर्न थालेका छन् । उपभोक्ताको रोजाइलाई ध्यानमा राख्दै चितवनको भरतपुर महानगरपालिका–५ कैलाशनगरमा १४ जना व्यवसायी मिलेर ‘चितवन उड क्राफ्ट प्रालि’ स्थापना गरेका छन् । उद्योगमा नेपाली काठ प्रयोग गरेर नेपाली कालिगडले नै सामग्री बनाउने गरेका छन् ।

गत वैशाखदेखि सञ्चालनमा आएको सो उद्योगले भदौदेखि आफ्ना उत्पादन बजारमा ल्याएको छ । बजारमा ल्याएको छोटो समयमा नै नेपाली उद्योगका उत्पादन ग्राहकले रुचाएका छन् । उद्योगका सञ्चालक तथा व्यवस्थापक युगराज वस्तीका अनुसार उपभोक्ताको आवश्यकता अनुसार उत्पादित वस्तु थप गर्दै लगिएको छ । उत्पादन गरिएका सामान बिक्री भइरहको उहाँको भनाइ छ ।

उद्योगले उत्पादन गरेका सामाग्री पुस्तक पसलदेखि भाँडा पसलसम्म राखेर बिक्री गरिँदै आएको छ । उद्योगले काँटा चम्चा, टेबल, कपडा झुण्ड्याउने ह्याङगर, जुत्ता राख्ने ¥याक, मसला बक्स, बेलना, चौका, पुस्तक ¥याक, कटिङ बोर्ड, गमला, खुर्मा बनाउने बोर्ड, खुत्रुके, गणितीय नापजाँच सम्बन्धी सामग्री, सोफालगायत उत्पादन गरिरहेको छ ।

नेपालमै बसेर अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने उद्देश्यका साथ काम गरिरहेको सञ्चालक वस्तीको भनाइ छ । “हाम्रा वन जङ्गलमा रुख ढलेर सडेर गएका छन । उपयोगमा ल्याउन सकिएको छैन”, उहाँले भन्नुभयो, “काठको सरकारी खरिद प्रक्रिया पनि झन्झटिलो छ ।” उहाँले उद्योगलाई टिकाइराख्नका लागि सरकारले मेसिन ल्याउन र काठ खरिदमा सहजीकरण गरिदिनुपर्ने बताउनुभयो ।

उद्योगबाट हाल ३५ जनाले रोजगारी पाएका छन् । उद्योग स्थापनाका लागि रु १२ करोड खर्च भएको उद्योगका अध्यक्ष ताराप्रसाद पौडेलले बताउनुभयो । उहाँले मनाङ, मुस्ताङ जस्ता चिसो ठाउँमा काठका सामाग्री पु¥याउने लक्ष्य राखिएको बताउनुभयो । आगामी दिनमा विदेश निर्यात गर्नेगरी सामाग्री उत्पादन गर्ने उद्योगको योजना छ ।  रासस