२०८१ बैशाख १६ , आइतवार

कर बक्यौता विवाद: ७५ प्रतिशत इन्टरनेट बन्द हुने चेतावनी

Internet

सुनाखरी न्युज/ काठमाडौं ।
सरकार र  इन्टरनेट सेवा प्रदायक बीच बेरुजुको विषयमा विवाद बल्झेसँगै सेवा प्रदायकहरूले पुस १५ देखि देशभर इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएका छन् । विदेशबाट ब्यान्डविथ आयात गरेबापतको शुल्क आफूहरूले भारतीय कम्पनीलाई तिर्न नपाएकाले इन्टरनेट सेवा बन्द हुने अवस्था आउन लागेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान) ले जनाएको छ ।

देशभर करिब ७५ प्रतिशत इन्टरनेट अवरुद्ध हुन सक्ने आईस्पानका अध्यक्षसमेत रहेका सुबिसु केबलनेटका अध्यक्ष सुधीर पराजुलीले बताए । ‘हामीले ब्यान्डविथ किन्ने गरेको भारतका एयरटेल र टाटाले डिसेम्बर ३१ सम्मको समय दिएका छन्, त्यतिञ्जेल रकम भुक्तानी नगरे नेपालमा इन्टरनेट बन्द हुन्छ,’ पराजुलीले भने, ‘ब्यान्डविथ भित्र्याउनेमध्ये वर्ल्डलिंक, भायानेट, सुबिसु र क्लासिक टेकलाई भारतीय कम्पनीले पत्र पठाएको छ । शुल्क नतिरे इन्टरनेट काट्छौं भनेको छ ।’

 

यसैबीच, प्राधिकरणले ३० वटा दूरसञ्चार सेवा प्रदायकको सूची निकाल्दै तिनले केही वर्षको रोयल्टीसहित अन्य बक्यौता रकम नतिरेको हुनाले एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।