२०८१ बैशाख २८ , शुक्रवार

सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश

No smoking sign isolated on white

सुनाखरी न्युज/ काठमाडौं ।
काठमाडौं महानगरपालिकाको  प्लास्टिक प्याकेजिङमा रहेका धुम्रपान र सुर्तीजन्य पदार्थको बेचबिखनमा रोक लगाउने निर्णयलाई तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय जनक पाण्डे र व्रजेश प्याकुरेलको संयुक्त इजलासले शुक्रबार महानगरको निर्णयविरुद्ध परेको रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म त्यसलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

श्रीराम टोबागो उद्योग प्रालिले उच्च अदालतमा महानगरको निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै रिट निवेदन दर्ता गराएको थियो । उक्त उद्योगका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमण श्रेष्ठ, पूर्णमान शाक्य, अधिवक्ताहरु दामोदर तिम्सिना, सन्तोष तिवारी, जयलाल भण्डारी, नारायण नेपाल, आकृती खनाल, असाङकनबहादुर मल्लले बहस गरेका थिए भने महानगरपालिकाको तर्फबाट वरिष्ठ अधिवक्ता महेशकुमार नेपाल तथा अधिवक्ताद्वय दिना श्रेष्ठ, ओमप्रकाश अर्यालका साथै नेपाल सरकारको तर्फबाट उपस्थित सहायक न्यायाधिवक्ता पूजा सिलवालले बहस गरेका थिए ।

महानगरले मंसिर १२ गते १५ दिने सूचना प्रकाशन गर्दै प्लास्टिकमा प्याक गरिएको सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरेको थियो ।