२०८१ जेठ ५ , शनिवार

नागरिकताका लागि प्रभाकारी बन्यो गाउँमै कागजात सङ्कलन अभियान

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
रोगका कारण थलिएको शरीर र अनुहार चाउरी परेपछि बल्ल नागरिकता पाउँदा धनगढीमाई नगरपालिका–१४ सर्रे अम्बासकी ७० वर्र्षीय आसमान राईको अनुहारमा खुसीका लहर छाएको छ । नागरिकताको प्रमाणपत्र ज्येष्ठ नागरिकको हैसियतमा अब प्राप्त हुने सामाजिक सुरक्षा भत्ताका कारण उहाँ खुशी हुनुभएको होे ।

अठसठ्ठी वर्षको उमेरमा प्राप्त हुने उक्त भत्ता पाउन आशामायालाई पहिल्यै नागरिकता बनाउने रहर नलागेको पनि होइन तर दुर्गम गाउँदेखि पटक–पटक सरकारी निकाए धाएर नागरिकता बनाउन उहाँलाई त्यति सहज पनि थिएन । अहिले भने धनगढीमाई नगरपालिका—१४ को वडा कार्यालयमै युएनडिपीको संस्थागत सुधारमार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना—२ अन्तर्गत लहानस्थित समग्र जन–उत्थान केन्द्र र धनगढीमाई नगरपालिकाको संयुक्त आयोजनमा गत हप्ता आवश्यक कागजात गाउँमै पुगेर सङ्कलन गरिएपछि भने आशामायाको नागरिकता बनाउने सपना पूरा भएको हो ।

“सजिलै हिँडडुल गर्न पनि सक्दिन । दमको बिरामी छु । दैनिक औषधि सेवन गर्नुपर्छ । नागरिकता नपाइ मर्छु कि भन्ने लागेको थियो” गाउँमै नागरिकता पाएपछि आशामायाले भन्नुभयो,“मेरो सम्पत्ति भन्नु अब यही (नागरिकता) हो । गरिब थिएँ, दुःखी थिएँ, अब धनी भएँ । अत्यन्त खुसी लागेको छ । अब अलिलामो समय बाँच्छु की जस्तो आशा जागेको छ ।” नागरिकता प्रात्तिपछि सामाजिक सुरक्षा भत्ताबापतको रकम अब कहिले पाउँछु भन्नेमा उहाँको चासो थियो ।

अब आशामायाको सामाजिक सुरक्षा भत्ताको लागि बाटो खुलेको वडासचिव रामउद्गार यादवले बताउनुभयो । त्यसका लागि नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र बनाइ अन्य आवश्यक कागजात वडामा यही मङ्सिर महिनाभित्रमै पेस गरेमा पुस महिनादेखि उक्त भत्ताबापतको रकम निजलाई प्रदान गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

सजिलै हिँडडुल गर्न तथा स्पष्ट बोल्नसमेत नसक्ने अवस्थामा गाउँमै नागरिकता पाएका सोही वडाका अपाङगता भएका व्यक्ति अम्मरबहादुर मगरले पनि शारीरिक हाउभाउबाट खुुुसी व्यक्त गर्नुभयो । करिब तीन घण्टा अपाङ्गता भएका दाइलाई बोकेर वडासम्म ल्याइएको भाइ पूर्णबहादुर मगरले बताउनुभयो ।

“वडासम्म आउन यति कष्टपूर्ण छ, झन इलाका प्रशासन कार्यालयसम्म पटक–पटक धाएर नागरिकता बनाउन मुस्किल थियो । यहीँ (गाउँमै) नागरिकता बन्यो, खुसी लागेको छ ।” सरकारले गाउँमै आएर सेवा दिएकामा उहाँले आभारसमेत व्यक्त गर्नुभयो ।धनगढीमाई नगरपालिका—१२, १३ र १४ का नागरिकले नागरिकता बनाउन इलाका प्रसासन कार्यलय लहान जानुथ्र्यो । भौगोलिकरुपमा विकट तथा आर्थिक रुपमा कमजोर नागरिकले नागरिकताका लागि प्रशासन कार्यालयमा दुई÷चार पटक धाउदा पनि नबनेपछि झन्झट मानेर बीचमै प्रक्रिया छाडी हिँड्ने गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय र लहान इलाका प्रसासन कार्यलयको समन्वयमा कर्मचारीको टोलीसहित गाउँमै गएर नागरिकताको लागि आवश्यक कागजत सङ््कलन गरिएको धनगढीमाई नगरपालिकाका उपप्रमुख सङ्गीताकुमारी चौधरीले बताउनुभयो ।

“निम्न आर्थिक अवस्थाका नागरिक नागरिकताका लागि दिन माया मारेर प्रशासन कार्यालय धाउदा पनि आवश्यक कागजात र प्रक्रिया मिलाउन नसक्दा दूरदराजका गाउँमा नागरिकता नै नबनाउने समस्या देखा परेको थियो ।
संविधानले नै प्रत्येक नागरिकको हकको अधिकार सुनिश्चित गरे पनि विविध कारण नागरिकता बनाउन नसक्दा उनीहरु सरकारी सुविधाबाट वञ्चित छन्” उपप्रमुख चौधरीले भन्नुभयो,“जनप्रतिनिधिको हिसाबले नागरिकलाई नजिकैको सरकारको अनुभूित दिलाउन जनताको घरदैलोमै गएर सेवा प्रवाह गर्नुपर्छ भन्ने मान्यताले पहल गरेकी हुँ । अहिले गाउँमै वृद्धवृद्धा आमा–बुवा, एकल महिला, अपाङ्गता भएका व्यक्तिलगायतले सहजरूपमा नागरिकता पाउँदा उहाँहरु जति खुसी हुनुहन्छ, त्योभन्दा बढी खुसी र सन्तुष्टि मलाई लागेको छ ।”

नागरिकताका लागि गाउँमै कागजात सङ्कलनका क्रममा कुनैपनि कागजात नहुनेको लागि वडाको जनप्रतिनिधि भएको नाताले आफूले सार्वजनिक सरजमिनका आधारमा सनाखद गरिदिएको वडा नं १४ का अध्यक्ष अमित ठकुरीले बताउनुभयो । उहाँका अनुसार उक्त वडामा मात्र कागजातविहीन २६ जनाको सनाखद गरिएको छ ।
नागरिकताका लागि आवश्यक कागजात नहुनेहरुका लागि नेपाल नागरिकता (दोस्रो संशोधन) नियमावली, २०७८ अनुसार नेपालमा जन्म भई निरन्तररूपमा नेपाल सरहदभित्र स्थायी रूपमा बसोबास गरी आएको व्यहोरा खुल्ने गरी स्थानीय तहको प्रतिनिधिको रोहबरमा अनुसूची—५ बमोजिमको ढाँचामा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त स्थानीय बासिन्दाकोे स्थलगत सरजमिनका आधारमा नागरिकता बनाउन सकिने व्यवस्था गरिएको छ ।

नागरिकताको लागि आवश्यक कागजात र सरजमिनको निवेदनसहित तीन वटै वडाबाट गतहप्ता एक सय ४६ जनाले निवेदन दिएका थिए । जसमध्ये प्रमाण नपुगेका २५ जना बाहेकको नागरिकता तयार भएकोले गाउँमै गएर शनिबार वितरण गरिएको इलाका प्रसासन कार्यलयका प्रमुख लीलाकान्त पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार तीनवटा वडामा गरी जम्मा आठ जना अपाङ्गता भएका नागरिकले नागरिकता पाएका छन् ।

ग्रामीण भेगका नागरिकताविहीन असाहय, दलित, अपाङ्गता, एकल महिला, वृद्धवृद्धा तथा आर्थिक अवस्था कमजोर भएका निम्नवर्गका नागरिकलाई यस अभियानले उत्साह जगाएको समग्र जन–उत्थान केन्द्र का परियोजना संयोजक चन्दनकुमार कर्णले बताउनुभयो ।  रासस