२०८१ बैशाख १७ , सोमवार

प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिनेछ : मुख्यमन्त्री चौधरी

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई ५० शय्यामा विस्तार गरिने जानकारी दिनुभएको छ । हाल १५ शय्यामा सञ्चालित उक्त अस्पतालको आज अनुगमन गर्दै उहाँले यही आर्थिक वर्षमा नै अस्पतालमा शय्या थपिने बताउनुभयो ।

मुख्यमन्त्री चौधरीले भन्नुभयो,“अस्पतालको सेवा सुविधालाई अझैं चुस्तदुरुस्त बनाएर बिरामीलाई सहज तरिकाले सेवा प्रवाह गर्नका लागि यसै आर्थिक वर्षमा नै थप ३५ शय्या थप गर्न पहल गर्नेछु ।” प्रदेश प्रहरी अस्पतालका निर्देशक तथा प्रहरी वरिष्ठ उपरीक्षक डा अमिनकुमार श्रेष्ठले मुख्यमन्त्री चौधरीलाई अस्पतालका बारेमा जानकारी दिनुभएको थियो ।

सो अवसरमा निर्देशक डा श्रेष्ठले अस्पतामा आवश्यक भौतिक संरचनाका साथै निर्माणाधीन भवनको बारेमा पनि जानकारी गराउनु भएको थियो । विसं २०५५ मा स्थापना भएको उक्त अस्पतालले लुम्बिनी मात्र नभइ कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई समेत सेवा दिँदै आइरहेको छ । प्रदेश अन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरुका परिवार र भूपू प्रहरीलाई समेत लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो ।

निर्देशक डा श्रेष्ठले प्रदेश प्रहरी अस्पताललाई तीनवटै प्रदेशको स्वास्थ्य उपचारको ‘हब’ बनाउने योजना रहेको जानकारी दिनुभयो । रासस