
शिशिर/ पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिले मध्य पहाडी लोकमार्ग अन्र्तगत कास्कीमा देखिएको समस्याप्रति चासो राख्ने भएका छन् ।
लोकमार्गका कारण हेम्जाको याम्दी खण्ड देखि अर्मलासम्मको रुटमा अहिलेकै अवस्थामा लोकमार्ग निर्माण भए सयौं घरधुरी विस्थापित हुने र प्राकृतिक तथा साँस्कृतिक धरोहर नष्ट हुने भन्दै पिडितहरुले सर्घष समिति नै गठन गरी विगत ६ महिना देखि आन्दोलन गरिरहेका छन् । एमालेले सञ्चालन गरेको ‘बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा’को क्रममा मंसिर २१ गते यात्राको टोली सहित अध्यक्ष ओली कास्की आउनेछन् । सोही क्रममा ओलीले कास्कीमा देखिएको विवादको बारेमा बुझ्ने र समाधानको लागि पहल गर्ने एमाले कास्कीले जनाएको छ ।
एमाले कास्कीले मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर संकल्पयात्राको क्रममा कास्कीमा गरिने गतिविधिको बारेमा जानकारी गराँउदै संघर्ष समितिले चाहेमा यो विषयमा उनीहरुले एमाले अध्यक्ष ओलीसँग कुरा राख्न पाउने वताईएको छ । कास्कीमा एमालेले अध्यक्ष ओलीलाई २१ गते नयाँ पुलमा स्वागत गर्ने र अन्नपूर्ण गाउँपालिका नागडाँडामा स्वागत र भेटघाट गर्ने कार्यक्रम तय गरेको छ । ओलीले सोही दिन साढे ४ बजे हेम्जामा सम्बोधन समेत गर्नेछन् । त्यसपछि पोखरामा बस्ने ओलीले विभिन्न क्षेत्रका व्यक्तिसँग भेटघाट र छलफल गर्नेछन् ।एमाले कास्की अध्यक्ष मनवहादुर गुरुङले पत्रकार सम्मेलनमा बोल्दै पोखरा बसाइँका क्रममा अध्यक्ष ओलीसँग संवाद गर्न र गुनासो सुनाउन पाइने व्यवस्था मिलाइने खुलाए ।
कृषि बैज्ञानिक, सामाजिक अभियान्ता लगायत छनोट गरेर बेलुका ९ बजेबाट बिहान साढे ७ बजे भन्दा अगाडि होटलमानै व्यवस्था गर्नेछौ, चाहनुभयो भने मध्यपहाडी लोकमार्गको विषयमा कास्कीमा आन्दोलन गरिरहनुभएकालाई समेत भेट्ने र कुरा राख्ने अवस्था सिर्जना गर्नेछौं’ उनले भने ।गुरुङले मध्यपहाडी लोकमागको पोखरा २५ याम्दीपूलदेखि पोखरा १६ हुँदै पोखरा २० अर्मलासम्म बाटो छिचोल्न समस्या भएको खुलाए । मादी गाउँपालिकाको भैंसेबाट मुरीबेसी हुँदै लमजुङ जानेबाटोमा मादी नदी भएको कारण केही समस्या भएको उनले खुलाए ।
कास्की अध्यक्ष गुरुङले कास्कीमा देखिएको विवाद समाधान गर्न सक्ने खालको रहेको बताए । लोकमार्ग अन्तरगतका अन्य ठाउँमा केही सामान्य विवाद भएपनि कास्कीको जस्तो अवस्था नभएको उनको दावी छ । विकासको नाममा राज्यले कुनै व्यक्तिलाई सुकुम्बासी नबनाउने उनले स्पष्ट पारें ।सम्झौता भएर ट्रेण्डरमा गइसकेको विषयलाई राजनीतिक दाउपेचको आधारमा तोडमोड गर्न खोज्न नहुने उनले सुनाए ।कास्कीको समस्या यहाँका नेता र जनताले हल गर्नुपर्ने उनको भनाई छ । यहाँका जनतालाई समस्या नपर्ने गरी कम भन्दा कम क्षतिमा काम गर्न सकिने उनको दावी छ ।
एमाले अध्यक्ष ओलीले यो मार्गमा रहेका सुझाब सुन्ने र देखिएका समस्याको विधिसम्वत समाधान गर्ने गुरुङले खुलाए । एमालेले सञ्चालन गरेको ‘बैतडी झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा’को क्रममा मंसिर २१ गते यात्राको टोली सहित अध्यक्ष ओली कास्की आउनेछन् ।पिडित पक्षले लोकमार्गले यहाँका सयौं जनताको उठीवास गराएने भन्दै रुट परिवर्तन गर्न स्थानिय सरकार, प्रदेश र केन्द्र सरकारको ध्यानाकर्षण समेत गराईसकेका छन्।