
शिशिर/ पोखरा । पोखराको अार्वा विजय डाँडामा एन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ।
पोखरामा पहिलो पटक आयोजित प्रतियोगिताको नगरप्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको हो । प्रमुख आचार्यले पोखराको खेल पर्यटनमा प्रवर्द्धनमा प्रतियोगिताले महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । “पोखरालाई पर्यटनको राजधानी बनाउने क्रममा रहँदै गर्दा खेलकुदको माध्यमबाट पनि यसलाई सहयोग पुर्याउन सकिन्छ भनेर पोखरामा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिताहरू भएका छन्, प्रमुख आचार्यले भन्नुभयो, यस पटक आर्वामा हुने यो इभेन्टले पनि पोखरा साँच्ची कै सबै प्रकारका खेल प्रतियोगिताहरू आयोजना गर्न उपयुक्त छ, भन्ने सन्देश दिनेछ ।”
एन्डुरोका लागि तयार गरिएको रुटलाई नियमित प्रतियोगिता गर्नका लागि संरक्षण र सम्वद्र्धन गरिने उहाँले बताउनुभयो । आर्वाको भूगोल यस प्रकारको प्रतियोगिता सञ्चालनका लागि प्राविधिक टोलीले समेत उपयुक्त रहेको ठहर गरेपछि आवश्यक व्यवस्थापन गरिएको प्रमुख आचार्यले बताउनुभयो । डन टिल डस्कद्धारा आयोजित प्रतियोगिता ९ गतेसम्म चल्ने छ । प्रतियोगितामा ११ देशका ५५ खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा इलिट जुनियर (१२–१८) वर्ष, मास्टर्स क’ (३०–३९) वर्ष, मास्टर्स ख’ (४०–४९) वर्ष, भेट्रान (५० वर्षमाथि), महिला ओपन तथा ई–बाइक गरी ७ विधामा प्रतिस्पर्धा हुने का रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले जानकारी दिनुभयो ।
समुद्री सतहदेखि सतहबाट १४ सय मिटर उचाइमा रहेको आर्बा–विजयडाँडा हुने माउन्टेन बाइक प्रतियोगिताले पोखराको पर्यटनमा टेवा पुर्याउने वडाध्यक्ष किरण बरालले बताउनुभयो । वडाध्यक्ष वरालले अार्वा धार्मिक तथा पर्यटकिय क्षेत्र भएकाले यसको विकासमा सबै पक्ष लाग्नु पर्नेमा जोड दिनुभयो। पोखरा महानगरपालिका वडा नं.१२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले प्रतियोगिता मार्फत पोखराको अन्तर्राष्ट्रिय बजारमा थप प्रचार प्रसार हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा नेपाल सहित भारत, सिंगापुर, डेनमार्क, अमेरिका, बेलायत, अस्ट्रेलिया, इन्डोनेसिया, फिलिपिन्स तथा न्युजिल्यान्ड लगायतका देशका साइक्लिस्टको सहभागिता रहेको छ । एन्डुरो प्रतिस्पर्धाका लागि आर्वामा ६ वटा ट्रेल बनाइएको छ । ६ वटा ट्रेल खास गरी १.८ किलोमिटर, २ किलोमिटर लगायतको दूरीको छ ।