२०८१ जेठ ६ , आइतवार

जाजरकोट भूकम्प : दुई जिल्लामा ३९ प्रहरी कार्यालयमा क्षति

bhukampa-surkhet
सुनाखरी न्युज/ काठमाडौं । यही कात्तिक १७ गते जाजरकोट रामीडाँडा केन्द्र बिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पले जाजरकोट र रुकुमपश्चिमका प्रहरी कार्यालयमा ठूलो क्षति पुर्‍याएको छ । भूकम्पले जाजरकोट र रुकुमपश्चिममा गरेर जिल्ला प्रहरी कार्यालयका भवनसँगै ३९ वडा प्रहरी भवनमा क्षति पुर्‍याएको हो ।
जाजरकोटमा मात्रै २९ वटा प्रहरी कार्यालयका भवन आंशिक क्षति हुँदा चार भवन भने पूर्णरुपमा ध्वस्त भएका जिल्ला प्रहरी कार्यालयका जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालयको भवन, चुनेचाँदे गाउँपालिका–९ मा रहेको इलाका प्रहरी कार्यालय पञ्चलादह, भेरी नगरपालिक–३ मा रहेको जिल्ला अदालत समन्वय सुरक्षा इकाइ कार्यालय र सोही ठाउँकै अस्थायी प्रहरी चौकी पूर्णरुपमा क्षति भएका हुन् ।
जिल्लामा भूकम्पले आंशिक क्षति पुर्‍याइएका २९ प्रहरी भवनमध्ये चार वटा कम जोखिम भएकाले सोही भवनबाट सेवा सञ्चालन भइरहेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिनुभयो । अन्य जोखिम रहेका ठाउँमा त्रिपालबाट सेवा प्रवाह भइरहेको उहाँले बताउनुभयो ।
त्यस्तै रुकुमपश्चिममा १० वटा प्रहरी कार्यालयमा क्षति हुँदा पाँच भवन पूर्णरुपमा ध्वस्त भएका छन् भने पाँच वटामा आंशिक क्षति पुुगेको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार जिल्ला प्रहरी कार्यालयको पुरानो भवन बस्न नमिल्ने गरी क्षति भएको छ ।
प्रहरीचौकी पूर्तिमकाँडा, प्रहरीचौकी सोलावाङ, प्रहरीचौकी सिम्ली र इलाका प्रहरी कार्यालय आठबिसकोटका भवन पूर्णरुपमा भूकम्पले क्षति पु¥याएको छ । सिम्लीको प्रहरीचौकी अरुको घरमा सरेर सेवा दिइरहेको छ भने आठबिसकोट इलाका प्रहरी कार्यालयले त्रिपालबाट सेवा दिइरहेको प्रनाउ भट्टराईले जानकारी दिनुभयो । बाँकी अस्थायी प्रहरीचौकी साँख, स्यालाखदी, पीपल, भुल्नेटा र इलाका प्रहरी कार्यालय चौरजहारीमा आंशिकरुपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । रासस