२०८३ श्रावण २७ , बुधवार

पोखरामा सिग्नेचर ब्रिजको शिलान्यास, पोखरालाई पर्यटनको राजधानी घोषणा गर्न दवाव दिन्छु: मन्त्री ज्वाला

Capture

शिशिर उजाड/ पोखरा । पोखरा महानगरपालिका वडा नं ९ र १० जोड्ने सेती नदीमा निर्माण हुने सिग्नेचर पुलको शिलान्यास गरिएको छ।

पोखरा–मुग्लिन राजमार्ग सुधार चरण–१ योजना अन्तरगत निर्माण हुने पुलको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गर्नुभएको हो । पुलको शिलान्यास गर्दै मन्त्री ज्वालाले तोकिएको समयमा पुल निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यवसायी लगायत सरोकारवालाहरूलाई निर्देशन दिदै ,निर्माण कार्य समयमा सम्पन्न गर्ने सन्दर्भमा मन्त्रालयको तर्फबाट पुरै सहयोग रहने उहाँले विश्वास पनि दिलाउनुभयो । पुलले पोखराको सुन्दरतामा नयाँ आयाम थप्ने उहाँले विश्वास समेत व्यक्त गर्नुभयो । पोखराको आर्थिक तथा सामाजिक विकासमा समेत यसले मेरुदण्डको काम गर्ने मन्त्री ज्वालाले बताउनुभयो । सेती नदी माथि मितेरी पुल समेत निर्माण गर्ने उहाँले प्रतिबद्धता पनि जनाउनुभयो ।

पोखरा पर्यटकीय दृष्टिकोणले निकै सुन्दर रहेको उल्लेख गर्दै उहाँले यसलाई पर्यटनको राजधानी सहर घोषणा गरिनु पर्नेमा जोड दिनुभयो । नेपाल सरकारवाट यसको औपचारिक घोषणाका लागि आवश्यक पहल गर्न आफू प्रतिबद्ध रहेको भन्दै उहाँले प्रदेश सरकार र महानगरपालिकाको तर्फबाट डेलिगेसन आउन र सो डेलिगेसनसँगै आफू पनि पोखरालाई पर्यटन राजधानी घोषणाका लागि दबाब दिन तत्पर रहेको बताउनुभयो । संघिय सासंद विद्या भट्टराईले निर्माणका क्रममा आउने समस्याहरुलाई सवै पक्षको पहलमा मिलाएर निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुल निर्माणका क्रममा आउन सक्ने सवै खाले स्थानीय अवरोधहरूको समाधान गरिदिने बताउनुभयो । स्थानीय अवरोधका कारण पुल निर्माण कार्यलाई ढिलाइ हुन नदिने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । सेती नदीमाथि बन्ने सिग्नेचर ब्रिजले पोखराको थप सौन्दर्ययता बढाउने प्रमुख आचार्यले विश्वास व्यक्त गर्नुभयो । पोखराको पर्यटन लगायत यस क्षेत्रको समग्र विकासमा लाइफलाइनको रूपमा यसको निकै महत्त्व रहने उहाँले बताउनुभयो ।

पुल निर्माणको कार्य २०८२ भाद्र २१ गते भित्र सम्पन्न गर्ने गरी रसुवा कन्स्ट्रक्सन प्रा.ली काठमाण्डौले १ अर्व ७ करोड २४ लाखमा ठेक्का सम्झौता गरेको छ । ठेक्का पाएसँगै निर्माण सामाग्री झारेर काम शुरु गरिसकेको छ। यस अवधिमा सेतीमा मौजुदा पुलको दायाँबायाँ १९०/१९० मिटरका २ वटा पुलहरू समेत निर्माण हुने बताईएको छ।