२०८३ श्रावण २७ , बुधवार

कालीभक्तको जन्मभूमि पर्वतको फलेवासमा काव्ययात्रा

Capture

उजाड शिशिर/ पोखरा । लोकसंस्कृतिका अध्येता तथा अनुसन्धानदाता कालीभक्त पन्तको जन्मभूमि पर्वतको फलेवासमा तीन दिवसीय काव्ययात्रा सम्पन्न भएको छ ।

 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) साँस्कृतिक समिति र नेपाल च्याप्टरको आयोजना एवम् कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको संयोजनमा अनेसास बोष्टन च्याप्टर अध्यक्ष तथा केन्द्रीय साँस्कृतिक समिति संयोजक महेश्वर पन्तको व्यवस्थापनमा सम्पन्न भएको काव्यात्रामा देशभरका ३५ जना कवि, कलाकार, गीतकार, संगीतकार र अनुसन्धानदाता सहित स्थानीयको उपस्थिति रहेको थियो ।

 

सम्मेलनको उद्घाटन गर्दै फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले देशभरका स्रष्टालाई स्थानीय तहमा ल्याएर कार्यक्रम गर्दा त्यस ठाउँ, प्रतिभा र विशेषताको प्रभावकारी प्रचारप्रसार हुने भएकाले यस्ता कार्यक्रम निकै आवश्यक रहेको बताए । उनले सिर्जना र साहित्यका माध्यमबाट पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यले यस्ता कार्यक्रम देशभरका स्थानीय सरकारले सञ्चालन गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै महेश्वर पन्तले लामो समयदेखिको फलेवासमा काव्ययात्रा आयोजना गर्ने सपना पूरा भएको बताए । पन्तले समय र परिस्थितले ज्यान परदेशमा भए पनि चिन्तन सदा घरदेशको मात्र नभएर यहाँको कला, साहित्य र संस्कृतिको हुने भएकाले काव्ययात्रा आयोजना गरिएको धारणा राखे ।

 

पन्तले कालीभक्तको जन्मस्थलमै यसरी विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका स्रष्टा साधकको उपस्थितिमा कार्यक्रम आयोजना गर्नुले यहाँको सांस्कृतिक, सामाजिक, साहित्यिक क्षेत्रको गौरवपूर्ण ऐतिहासिक पृष्ठभूमिको प्रचारप्रसारसँगै आन्तरिक पर्यटन पर्वद्धन कार्यक्रमको मुख्य उद्देश्य रहेको विचार व्यक्त गरे । सोही समारोहका बीच पन्तको उडेका पैताला कविता कृतिको लोकार्पण समेत गरियो । कृतिको समीक्षा गर्दै सुरेन्द्र अस्तफलले बहुआयामिक व्यक्तित्वका रूपमा चिनाए । कार्यक्रमको उद्घाटन सत्रमा अनेसास केन्द्रीय वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष डा.रेणुका सोलु, केन्द्रीय सदस्य सरिता अर्याल, पूर्वअध्यक्ष राधेश्याम लेकाली, अनेसास नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सन्ध्या पहाडी, नेपाल च्याप्टर सदस्य दुर्गाबहादुर शाह ‘बाबा’, फलेवास–६ का अध्यक्ष नवीनकुमार श्रेष्ठ, प्रतिष्ठानका संरक्षक गोविन्द पन्त, साहित्यकार विक्रमभक्त जोशी, सामाजिक अभियन्ता आर.के. अदीप्त गिरीलगायतले मन्तव्य राखेका थिए । यस्तै, लोकगायक विमलराज क्षेत्री, संगीतकार नरहरि प्रेमी र लोकगायिका ऋतु कँडेलको सांगीतिक प्रस्तुति रहेको थियो ।

 

कार्यक्रमको दोस्रो आँसुकवि सत्रमा साहित्यकार दुर्गाबहादुर शाह ‘बाबा’, देवेन्द्र के.सी., गीता कार्की, इन्दिरा ढकाल, सुरेन्द्र अस्तफल, गणेश श्रवण, उदय अधिकारी, लेखुराम सापकोटा, पदम अर्याल, सूर्यप्रकाश कँडेल, सरस्वती गौतम, सुरेन्द्र अस्तफल, आरजु विष्ट सल्यानी, आर.के. अदीप्त गिरी, असफल गौतम, रमेश दाहाल, नरहरि प्रेमी, विमलराज क्षेत्री, ऋतु कँडेल, दुर्गा अधिकारी, मनिला वन्त, उदय अधिकारी, मदनकुमार थापा, प्रकाश सुवेदीलगायतले आफ्ना उत्कृष्ट सिर्जनासहित तत्स्थानीय भ्रमणका अनुभूति सुनाएका थिए । यही आँसुकवि सत्रका रचनालाई समेटेर प्रकाशन हुने विशेषाङ्कका लागि फलेवास नगरपालिकाले आर्थिक सहयोग गर्ने नगरप्रमुख तिवारीले प्रतिबद्धता व्यक्त गरेका हुन् ।

 

कार्यक्रमको तेस्रो सांस्कृतिक सत्रमा स्थानीय आमा समूहका पदाधिकारी र काव्ययात्रामा सहभागी कलाकार, संगीतकार बीच मध्यरातसम्म दोहोरीसमेत चलेको थियो । विभिन्न सत्रमा सम्पन्न तीन दिवसीय कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता अनेसास नेपाल च्याप्टर अध्यक्ष राजेन्द्र के.सी., आँसुकवि सत्रको अध्यक्षता गीता कार्की र लोक तथा दोहारी गायन सत्रको नेतृत्व गायक विमलराज क्षत्रीले गरेका थिए । उद्घाटन सत्रको कार्यक्रम सञ्चालन साहित्यकार निशा केसीले गरेकी थिइन् ।

 

काव्ययात्राकै क्रममा देशका विभिन्न ठाउँबाट आएका स्रष्टा साधकलाई पर्वत, कुश्मा, फलेवासलगायतका विभिन्न क्षेत्रको अवलोकन भ्रमण समेत गराइएको थियो । काव्ययात्राको तेस्रो दिन पर्वतमा क्रियाशील सम्पूर्ण लायन्स क्लबकातर्फबाट र आर.के अदिप्त गिरी तथा शताब्दी घरकातर्फबाट कवि कलाकारलाई छुट्टाछुट्टै स्वागत सम्मान समेत आयोजना गरिएको थियो ।