
सुनाखरी न्युज / काठमाडौं ।
राष्ट्रिय सडक सञ्जाल नजोडिएका केही पश्चिम हिमाली जिल्लाहरुमा हवाई जहाजको टिकट नपाउँदा यात्रुहरु अलपत्र परेका छन्।नेपाल वायुसेवा निगमका उडानहरू अत्यन्तै न्यून हुनु, निजी एयरलाइन्सहरूले पनि नियमित उडानलाई भन्दा चार्टर उडानलाई प्राथमिकतामा राखेका कारण नियमित हवाई उडानमा सर्वसाधारणलाई टिकट पाउन मुस्किल हुने गरेको हो । नेपालगञ्जबाट हिमाली क्षेत्रमा उडानका लागि सर्वसाधरणले हवाई टिकट पाउन कि त ठूला नेतालाई भन्नुपर्छ कि त विचौलियालाई। सामान्य ढंगले आफैँ टिकट लिन्छु भन्ने हो भने महिनौँसम्म पनि टिकट पाउन नसकिने अवस्था त्यस क्षेत्रको छ।
सुत्केरी गराउन नेपालगञ्ज आएकी लुम्बिनी प्रदेश पूर्वीरुकुम की टीका शाहले घर फर्कनका लागि जहाजको टिकट पर्खिरहेकी छिन्। नेपालगञ्ज आउने समयमा पनि जहाजको टिकट सहज पाइएको थिएन। रुकुमपूर्व सिस्ने गाउँकी टीका जिल्लामा सुविधासम्पन्न अस्पताल नभएपछि सुत्केरी सेवा लिन नेपालगञ्ज आएकी थिइन्। १८ दिनकी सुत्केरी टीकासँग जहाजको टिकट छैन। पाइन्छ कि भन्ने आशामा विमानस्थलमा बच्चा लिएर यता उता गरिरहेकी छिन्।
उनी भन्छिन्, ‘फ्लाइट पनि गारो छ। पाइँदैन। उतै अप्रेशन भएपनि ब्लड पाइँदैन। आईसियु छैन। सेवा सुविधा केही पनि छैन। सके पनि नसके पनि यही ( नेपालगञ्ज) आउनैपर्ने बाध्यता छ। अब यहाँ यत्तिका समय भइसक्यो फ्लाइट नै पाइँदैन।’शाही भन्छन्, ‘नेपाल वायुसेवा निगमले रेगुलर उडान गर्ने हो भने पनि निजी एयरलाइन्सको भर पर्नुपर्ने थिएन । नेपाल वायु सेवा निगमलाई सिस्टममा ल्याउन सकिएको छ । मुख्य समस्या यही हो । प्राइभेट भनेको त पैसा कमाउनका लागि नै बनेका संस्था हुन् । मुख्य कुरा टिकट नै पाइँदैन । सामान्य मान्छे गएर टिकट पाउने सम्भावना छैन । च्यानलमा जानुपर्छ । नेताको ज्याक लिएर जानुपर्छ । टिकट पाउन बहुत गारो छ । विमानस्थल छिर्दै गर्दा हातमा टिकट लिएर आउन पाउने अवस्था कहिले आउँला ?’
विदेशी टोली आउँदा दिनमा ५ वटा सम्म चार्टर गर्ने निजी एयरलाइन्सहरुले ती उडानमा स्थानीयका लागि एउटा पनि सिट राख्दैनन् । कार्गो उडान गर्ने, विदेशी ओसार्ने तर आफूहरू बिरामी हुँदा पनि उडानको टिकट नपाएर उपचार अभावमा ज्यान गुमाउनुपर्ने भन्दै स्थानीयहरू हवाई उडान सेवा प्रति नै आक्रोशित बन्दै गएका छन् । वायुसेवा निगमले सातामा निकै कम उडान भर्ने र नियमित उडानको समयमा पनि उडान नगरी स्थगित गर्ने भएकाले पनि समस्या भएको धेरैको गुनासो छ ।