२०८१ जेठ ५ , शनिवार

अप्रेसनको भोलिपल्ट नै बिरामी हिँडडुल गर्न सक्ने एमआईएस सर्जरी केएसमीमा

Capture

सुनाखरी न्युज/ काठमाडौं । मिस केटी (नाम परिर्वतन) लाई मेरुदण्डको तल्लो भागको हड्डी भाँचिएको तथा मेरुदण्डको आकार विकृत भएपछि काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालको न्युरोसर्जरी भर्ना गरिएको थियो । उनले आफ्नो मेरुदण्ड ठीक गर्न मिनिमल इनभेसिभ स्पाइन सर्जरी (एमआईएसएस) गराइन् ।

यो उपचारमा उनले नत परम्परागत रुपमा चिरेर गरिने अप्रेसन पद्धति जस्तो लामो समय अस्पताल भर्ना भएर बस्नु पर्यो नत ढाडमा ठूलो घाउ नै बनाउनु पर्यो । केएमसीका दक्ष तथा अनुभवी चिकित्सकहरूले मेरुदण्डको भाँच्चिएको हड्डीलाई सिधा बनाउन अत्याधुनिक एमआईएसएस प्रविधिबाट इमेज डाइरेक्सन अनुसार मेरुदण्डको भाँच्चिएको हड्डीलाई सिधा बनाउन ससाना प्वालहरू मार्फत पेचहरु राखेका थिए ।

‘उहाँको भाँच्चिएको मेरुदण्डमा इमेज डाइरेक्सन मार्फत पेचहरु राखिएको हो । यसका लागि हामीले उहाँको ढाडमा ससाना प्वालहरू बनाएर मेरुदण्डमा पेचहरु पुर्याएका थियौं । इमेज डाइरेक्सनबाट कुन ठाउँको अप्रेसन गर्नुपर्ने हो त्यहीँ पुग्न सकिने भएकाले उहाँको अप्रेसन पूर्णरुपमा सफल भयो । यसबाट उहाँको ढाडलाई पुरानै अवस्थामा फर्काउन सहज भयो ।’ यो प्रविधिले चिरेर गरिने ठूल्ठूला अप्रेसनलाई विस्थापित नै गरिदिएको भन्दै केएमसी न्युरोसर्जरी विभागका विभागीय प्रमुख समेत रहेका प्रा.डा. अमित थापाले बताए ।

एमआईएसएस प्रविधिले खासगरी नसा तथा मेरुदण्डका बिरामीलाई ठूलो राहत मिलेको छ । परम्परागत शल्यक्रियामा ढाडमा ठूलाठूला घाउ बनाएर मेरुदण्डको उपचार गरिन्थ्यो । यो प्रविधि केएमसीले भित्र्याएसँगै बिरामीको शरीरमा ठूलो घाउ बनाउनु पर्ने, चिरेको घाउ ठिक हुन महिनौँ लाग्ने, अत्याधिक पीडासँगै लामो समयसम्म अस्पतालमा बेड रेस्ट समेत गर्नुपर्ने बाध्यता हटेको छ ।

यस्तै, यो प्रविधि भित्रिएसँगै नसा तथा मेरुदण्ड र ढाडको समस्या भएकाहरूको जटिल उपचारमा ठूलो सफलता मिल्दै गएको छ । ‘न्यूनतम क्षतिको कारण अप्रेसन पश्चात भोलिपल्ट नै बिरामी हिँडडुल गर्न सक्षम हुन्छ र ठूलो घाउ नभएको हुँदा दुखाइ पनि कम हुन्छ ।’ प्रा.डा. थापा भन्छन् । एमआईएस अप्रेसन काठमाडौं मेडिकल कलेजको न्युरोसर्जरी विभागमा प्रदान गरिने अत्याधुनिक सर्जिकल प्रविधि हो जसले चाँडो निको हुने मात्र नभई राम्रो नतिजासहित प्रभावकारी अप्रेसन गर्न पनि सहयोग गर्दछ ।

काठमाडौं मेडिकल कलेजको न्युरोसर्जरी विभागले स्वास्थ्य क्षेत्रमा नवीनतम उपचार प्रविधिहरू भित्र्याएर सर्वसुलभ शुल्कमा विश्वस्तरीय स्वास्थ्य उपचारहरू नेपालमै गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । केएमसीले एमआईएस र एन्डोस्कोपिक स्पाइन सर्जरीको साथै आगामी दिनमा मेरुदण्डको शल्यक्रियामा ‘डे केयर’ सेवाहरू प्रदान गर्ने योजना बनाएको जनरल मेनेजर दाहालले बताए । ‘डे केयर’ सेवाहरू थालनी गरेसँगै शल्यक्रिया गरेकै दिन बिरामीहरू घर जानसक्ने छन् ।

अस्पतालको स्वास्थ्य सेवालाई आधुनिकीकरण गर्नमा तत्कालीन केएमसीका कार्यकारी अध्यक्ष डाक्टर सुनिलकुमार शर्माको महत्वपूर्ण भूमिका छ । हाल प्रतिनिधि सभा सदस्य रहेका डा. शर्माले सर्वसुलभ शुल्कमा विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने रणनीति अनुसार अस्पतालको सेवाहरू सुधार्न आधुनिक चिकित्सा क्षेत्रका नवीनतम उपकरण र सेवाहरू थप गरेका थिए ।

एमआईएसका फाइदाहरूः

अप्रेसन गर्दा सानो भन्दा सानो प्वाल मात्र पारिन्छ ।

अप्रेसन गर्दा रगत धेरै खेर जाने हुँदैन ।

ठूलो चिरा नपारिने भएकाले मासु तथा नसाहरू काटिने जोखिम कम हुन्छ ।

अप्रेसन पश्चात कम संक्रमण र कम जोखिम रहन्छ ।

अप्रेसन पश्चात बिरामी लामो समय अस्पताल तथा बेडमा बस्नु पर्दैन ।

अप्रेसन पछि घाउ निको नहुन्जेलको लामो दुखाईबाट मुक्त भइन्छ ।

चाँडो निको भई आफ्नो दैनिक कृयाकलापमा सहभागी हुन सकिन्छ ।