२०८१ बैशाख २१ , शुक्रवार

बेरोजगारी कम गर्न निजी क्षेत्र र सरकारबीच साझेदारी आवश्यक छ’

Prakash S Mahat
सुनाखरी न्युज/ काठमाडौं ।  अर्थमन्त्री डा प्रकाशशरण महतले देशमा व्याप्त बेरोजगारी कम गर्नका लागि निजी क्षेत्र र सरकारबीच साझेदारी एवं सहकार्य अपरिहार्य रहेको बताउनुभएको छ ।
नेपाल तालिम तथा रोजगार व्यवसायी महासङ्घले आज आयोजना गरेको सीपमूलक तालिमका सम्भावना र योजना विषयक अन्तरक्रियामा उहाँले लहडको भरमा भन्दा पनि बजारको माग बमोजिम व्यावसायिक र सीपमूलक तालिम प्रदान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लहडको भरमा भन्दा पनि बजारको माग बमोजिम व्यावसायिक र सीपमूलक तालिम प्रदान गरे सोचे अनुरुपको आर्थिक लाभ लिन सकिन्छ ।”
यसैगरी उहाँले नेपालबाट दैनिक रोजगारीका लागि विदेश पलायन भइरहेको अवस्थामा महासङ्घले दक्ष कामदार उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । देशमै दक्ष मानव संशाधनको अभाव हुनु र अर्काेतिर बेरोजगारी दर बढ्दै जानु चिन्ताको विषय भएको उहाँको भनाइ थियो । देशमा विभिन्न किसिमका व्यावसायिक तालिम निजी क्षेत्र, वैदेशिक रोजगार विभाग, श्रम विभागलगायतले सञ्चालन गरे पनि परिणाममुखी बन्न नसकेको भन्दै अर्थमन्त्री डा महतले चिन्ता समेत व्यक्त गर्नुभयो ।
सो अवसरमा महासङ्घका अध्यक्ष अच्युत नेपालले बजारमा सीपमूलक तालिम र दक्ष जनशक्तिको माग एवं आपूर्तिकाबीच देखिएको दूरी अन्त्यका लागि सरकारसँगको साझेदारी र सहकार्यमा महासङ्घले छोटो अवधिका सीपमूलक तालिम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । रासस