२०८१ जेठ ५ , शनिवार

 आगामी निर्वाचनमा एमालेलाई बहुमतका साथ विजयी गराउनुपर्छ : अध्यक्ष ओली

KP-Sharma-Oli (1)
सुनाखरी न्युज/ काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफू नेतृत्वको पार्टीलाई बहुमतसहित सातै प्रदेशमा विजय गराउनुपर्ने बताउनुभएको छ । एमाले कोशी प्रदेशको अधिवेशनको आज उद्घाटन गर्दै उहाँले पार्टीले लिएको ‘मिशन–८४’ अन्तर्गत प्रत्येक टोल, वडा, जिल्ला, प्रदेश र  सङ्घमा ५१ प्रतिशत मतका साथ पार्टीलाई विजयी गराउन निर्देशन दिनुभयो ।
अध्यक्ष ओलीले जनताको समस्या बुझ्ने पार्टी एमाले मात्र भएको दावी गर्दै विगतमा एमाले ल्याएको ज्येष्ठ नागरिक वृद्ध भत्ता, महिलालाई प्रत्येक क्षेत्रमा ३३ प्रतिशत आरक्षण र महिला उद्यमीलाई चार प्रतिशत ब्याजमा दिएको ऋणले जनताले पार्टीलाई माया गरी विजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’को जनताको आकङ्क्षा एमालेले मात्र पूरा गर्ने बताउँदै पार्टीले लिएको एउटा बाटो, एउटा नीतिका आधारमा मुलुकको विकास हुने विचार राख्नुभयो । अध्यक्ष ओलीले पार्टीभित्र गरेका कामका आधारमा नेतृत्व चयन गर्नुपर्नेमा जोड दिँदै सहमति वा निर्वाचनमा आधारमा जे भए पनि लोकतान्त्रिक विधि पार्टीको मुलमन्त्र रहेको विचार राख्नुभयो ।
पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, सचिव एवं कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, प्रदेश उपाध्यक्ष टीकाराम चेम्जोङ, पूर्वमन्त्री शिवमाया तुम्वाहाम्फे र प्रदेश अध्यक्ष तुलसी न्यौपानेले पार्टीको नेतृत्वमा कुनै विवाद रहेको र लोकतन्त्र संरक्षण गर्न कार्यकर्तालाई आह्वान गर्नुभयो । दुई दिने अधिवेशनमा प्रदेशको नयाँ नेतृत्व चयन हुनेछ । रासस