
गोविन्द तिमिल्सिना/ हेमजा। हेमजा युनाइटेडको आयोजनामा पोखरा २५ हेमजामा बिहीबार आम भेला सम्पन्न भएको छ । हेमजा युनाइटेडले आयोजना गर्न लागेको सातौं अन्तर्राष्ट्रिय हेमजा गोल्डकपको लागि आम भेला गरिएको हो ।
भेलालाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न. २५ का वडा अध्यक्ष मोतीलाल तिमिल्सिनाले गोल्डकपको लागि महानगरको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । हेमजा युनाइटेडका अध्यक्ष राजेश त्रिपाठीले गोल्डकप हेमजाको गौरव भएकोले सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । यही कार्तिक ११ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने आमन्त्रित नकआउट फुटबल प्रतियोगिता गर्न ६० लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष त्रिपाठीले बताउनुभयो । भेलामा सुबिन श्रेष्ठ, शंकरमणी त्रिपाठी, शोभाकर तिमिल्सिना, सन्तमान श्रेष्ठ, दानबहादुर थापा, धर्मराज बाँस्तोला, दानबहादुर भुजेल लगाएतले सुझाव दिनुभएको थियो ।
युवा एकता र विकासका लागि खेलकुद’ भन्ने नाराका साथ गर्न लागिएको प्रतियोगिताबाट बचेको ५० प्रतिशत रकम हेमजा युनाईटेड एकेडेमी सञ्चालानार्थ खर्च गरिनेछ । युनाईटेडले गोल्डकपलाई निरन्तरता दिने, खेल मैदानमा प्याराफिट निर्माणमा थप पहल गर्ने, गौरीशंकर खेलमैदानलाई प्रादेशिक खेलमैदान वनाउन पहल गर्ने उद्देश्यीयका प्रतियोगिता आयोजना गरिएको हो ।
विजेता समूहले नगद रु.६ लाख ५५ हजार र उपविजेता समूहले रु.३ लाख ५५ हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउने छन् ।सर्वोत्कृष्ट खेलाडीलाई रु. ५० हजार, सर्वाधित गोलकर्तालाई रु. २५ हजार , फेयर प्लेय पुरस्कार रु.२५ हजार, अन्य विभिन्न पाँच विधामा उत्कृष्ट हुनेलाई जनही रु.२०, हजार तथा म्यान अफ दि म्याच हुन सफल खेलाडीलाई रु. ५ हजार प्रदान गरिनेछ । हेमजा युनाइटेडका अध्यक्ष राजेश त्रिपाठीको अध्यक्षतामा भएको भेलाको सञ्चालन सचिव सुनिल गायकले गर्नुभएको थियो ।