२०८१ बैशाख २५ , मंगलबार

गौरादहको ‘नमुना घरबास’ पर्यटकको रोजाइमा

Capture

सुनाखरी न्युज/ काठमाडौं ।
गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले सञ्चालन गरेको नमुना घरबास (होमस्टे) आन्तरिक तथा बाह्य पयर्टकको रोजाइमा परेको छ । जिल्लामा सहकारी भ्रमणका लागि विभिन्न सङ्घसंस्था, सहकारी तथा जनप्रतिनिधिदेखि पर्यटकीय स्थल घुम्न आउनेका लागि यहाँ सञ्चालित नमुना घरबास पहिलो रोजाइमा पर्ने गरेको हो ।

पूर्वपश्चिम राजमार्गको पाडाजुँगी चोकबाट करिब २० किलोमिटर दक्षिणमा रहेको यस घरबासमा हिउँदमा मात्र होइन वर्षामा पनि पर्यटकहरु बास बस्न आउने गरेका सहकारीका व्यवस्थापक अर्जुन खतिवडाले बताउनुभयो । उहाँका अनुसार सहकारीले दुई वर्षअघि ५० जना अट्ने क्षमताको घरबास निर्माण गरेको हो ।

रू एक करोड २० लाखमा निर्माण गरिएको उक्त घरबास कृषि पर्यटन प्रवद्र्धनका लागि वातावरण अनुकूल रहेको खतिवडाले जानकारी दिनुभयो । “पाहुनाको खाँचो छैन”, उहाँले भन्नुभयो, “सधै भरिभराउ नभए पनि हामीले गरेको नमुना खेती हेर्न आउने पर्यटक बास बस्ने गरी आइरहनुभएको छ ।” उहाँका अनुसार कृषि पर्यटनलाई लक्षित गरी संंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक सहयोगमा १२ कठ्ठा जग्गमा निर्माण गरिएको हो ।

घरबासमा आठ सुुत्ने र बस्ने सुविधा सम्पन्न कोठा तथा एउटा ८० जना अट्ने तालीम हल रहेको खतिवडाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अवलोकन भ्रमणमा देशभरका सहकारी, सङ्घसंस्थाबाट आउनुहुने पाहुनालाई सस्तो र गुणस्तरीय सेवा प्रदान गरिरहेका छौं ।” उहाँका अनुसार वार्षिक रुपमा एक हजार बढी पाहुना बास बस्ने गरी आउने गरेका छन् ।

उहाँले एक दिन बस्नका लागि प्रतिव्यक्ति साझा कोठाको रू तीन सय, दुई बेड भएको कोठाको रू एक हजार र विशेष कोठाको रू दुई हजार पाँच सय तोकिएको जानकारी दिनुभयो । खतिवडाका अनुसार सहकारीले जैविक तरकारी खेती, गाई फार्म, माछा, लोकल कुखुराका साथै आचार, पापड, डेरीलगायत उद्योग सञ्चालन गर्दै आएको छ ।
रासस