२०८१ जेठ ६ , आइतवार

पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

Sunakhari5

सुनाखरी न्युज/ काठमाडौं । कास्कीको पर्यटकीय गाउँका रुपमा चिनिएको घान्द्रुक पुग्ने पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने उक्त पदमार्गको बिहीबार उद्घाटन गरिएको छ ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिले निर्माण गरेको पदमार्गको गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले उद्घाटन गर्नुभयो । चार किलोमिटर लामो पदमार्ग निर्माणका लागि मन्त्रालय रू पाँच लाख सहयोग गरेको सचिव गुरुङले जानकारी दिनुभयो ।

बाँकी रू एक लाख ५० हजार समितिले खर्च गरेको समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो । उक्त पदमार्गको उद्घाटन भए पनि स्तरोन्नतिको काम अझै बाँकी रहेको उहाँले बताउनुभयो ।

मन्त्रालयका सचिव गुरुङले चक्रीय पदमार्गले घान्द्रुकको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । “घान्द्रुक कल्चर (संस्कृति) र नेचर(प्रकृति)को धनी गाउँ हो । यसमा निर्माण गरिएको चक्रिय पदमार्गले पर्यटन प्रवर्द्धनमा अझै टेवा पुग्ने छ,” उहाँले भन्नुभयो, “प्रदेश सरकारले उच्च हिमाली क्षेत्रमा पदमार्ग निर्माणमा सघाउने योजना बनाए अनुसार नै यहाँ सहयोग गरेको हो ।”

पदमार्गले दुईवटा मेश्रम बराह मन्दिर जोड्ने भएकाले प्राकृतिक र धार्मिक रुपमा महत्वपूर्ण रहेको सचिव गुरुङले सुनाउनुभयो । पदमार्ग अझै अपूरो रहेकाले आगामी वर्षको बजेटमा यसको विस्तारका लागि सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

पदमार्ग घान्द्रुकको बसपार्कदेखि सुरु भएर पञ्चे, कोटगाउँ, बलाचे पार्क, नभ्री थेव मेश्रम बराह मन्दिर, कोचमा प्लाँ, सात सय घान्द्रुक मेश्रम बराह, नेगो, चिया बगान, गैह्री गाउँ, तल्लो गाउँहुर्द बसपार्कमा पुगेर सकिने समितिका अध्यक्ष गुरुङले जानकारी दिनुभयो । पदमार्ग पूर्णरुपमा सञ्चालनका लागि सरकारसँगै घान्द्रुकका होटल व्यवसायीसँग पनि सहयोग माग्ने योजना रहेको उहाँले बताउनुभयो ।

“यो पदमार्ग चार किलोमिटरको दूरीमा छ । पहिलो चरणको काम सकिएको छ । यसमा गर्न बाँकी अझै धेरै काम छ,” समितिका अध्यक्ष गुरुङले भन्नुभयो, “यसका लागि सरकारसँग सहयोग लिने कुरा त छँदैछ, यहाँका होटल व्यवसायीले पनि सहयोग गरे शिलालेख लेखेर राख्ने योजना छ ।”

पदमार्ग निर्माणपछि एक दिन भए पनि पर्यटकको बसाइ लम्बिने स्थानीय अमृत गुरुङले बताउनुभयो । पदमार्गको करिब दुई किलोमिटर क्षेत्रमा वनजङ्गल भएकाले पर्यटक प्रकृतिसँग रमाउने उहाँको भनाइ थियो ।

“पदमार्ग पर्यटकका लागि अति नै महत्वपूर्ण छ । यसले पर्यटकको बसाइ अवश्य लम्ब्याउँछ,” अमृतले भन्नुभयो, “यसको आधा भागमा वनजङ्गल पर्छ । यहाँ पर्यटकले चराचुरुङ्गीको आवाजसँगै वन्यजन्तुहरु मृग, स्याल, वनकुखुरा अवलोकन गर्न सक्छन् ।” पदमार्गमा पर्यटकले चिया बगानसँगै फागुन–चैतमा लालीगुराँससँग रम्दै समय बिताउन सक्ने उहाँको भनाइ थियो । रासस