२०८१ बैशाख २२ , शनिवार

एक दशक पछि पोखरामा क्यासिनो पुनः सञ्चालनमा

casino

सुनाखरी न्युज/ पोखरा ।

 

१० वर्ष क्यासिनोविहीन भएको पोखरामा २९ भदौदेखि पुनः क्यासिनो सञ्चालनमा आएको छ । लेकसाइडको माउन्ट कैलाश रिसोर्टमा क्यासिनो ताज सञ्चालनमा आएको पर्यटन विभागका प्रवक्ता तथा आन्तरिक प्रशासन तथा होटल शाखाका निर्देशक कालीबहादुर भट्टराईले जानकारी दिए ।

पाँच तारे होटलमा फुल क्यासिनो र ४ तारे होटलमा मिनि क्यासिनो चलाउन पाउने सरकारी नीति रहेको र पोखरामा अनुमति पाएको मिनी क्यासिनो भएको उनले बताए ।

सन् २००९ देखि सञ्चालनमा आएको रिसोर्टमा क्यासिनो सञ्चालनको अनुमति पाएपछि २९ भदौमा सफ्ट ओपनिङ गरिएको थियो । आधुनिक मेसिन तथा उपकरणका माध्यमबाट खेलाइने ‘मिनी क्यासिनो’ मा २१ करोड रूपैयाँ लगानी भएको र केही दिनमै औपचारिक उद्घाटन गर्ने तयारी रहेको सञ्चालकको भनाइ छ ।

 

स्वीस इन्टरनेसनलले होटेल सरोबरमा क्यासिनो सञ्चालन गर्न पर्यटन विभागसँग अनुमति मागेको थियो । २०७६ साल जेठमा सञ्चालनमा आएको होटलको पार्किङ रहेको ठाउँमा क्यासिनो सञ्चालन गर्न भौतिक पूर्वाधार निर्माणसमेत सुरु भइसकेको थियो ।

महानगरले तोकको मापदण्ड विपरीत निर्माण भएको भन्दै आलोचना खेपेको होटलले पार्किङका लागि अनुमति लिएर क्यासिनो चलाउन खोजेपछि विभागले अनुमति दिन अस्वीकार गरेको हो ।

 

पोखरामा अरु २ वटा क्यासिनो सञ्चालनका लागि तयारी भइरहेको छ । पोखरा–६ मा रहेको हेरिटेज होटेल स्वीट्स एन्ड स्पामा भेन्टेन इन्टरटेनमेन्टले क्यासिनो सञ्चालन गर्ने चर्चा यसअघि नै चर्चामा थियो ।

पोखरामा क्यासिनो सञ्चालन गर्ने गरी गत साल नै कम्पनी दर्ता गरेको भए पनि क्यासिनो सञ्चालनको प्रक्रियामै रहेको र स्वीकृती भने लिइसकेका छैनन् ।

यसैगरी पोखरा हल्लनचोकको हल होराइजन मलमा पनि क्यासिनो सञ्चालनको लागि तयारी भइरहेको छ । हल्लनचोकमा रोम रिजेन्सी होटल एन्ड क्यासिनो सञ्चालनमा आउन लागेको हो । कम्पनीले मल भाडामा लिएर अहिले बोर्डसमेत टाँगिसकेको छ ।