२०८१ बैशाख १६ , आइतवार

सुनजस्तो देखिने धातुसहित चार पक्राउ

arrest1

सुनाखरी न्युज/ काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ क्षेत्रबाट अवैधरूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने धातुको ब्रासलेट दुई थान र बेरुवा औँठी एक थान गरी जम्मा ८५ ग्रामसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–१ बस्ने २१ वर्षीय अनिश गुरुङ, २१ वर्षीय रोशन विश्वकर्मा, काठमाडौँ महानगरपालिका–८ बस्ने ३० वर्षीय शनि देउला र मोरङ पथरी शनिश्चरे नगरपालिका–१ बस्ने ३८ वर्षीय कमल गुरुङ रहेका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार हिमालय एयरको उडानद्वारा दोहाबाट काठमाडौँ आएका अनिश र रोशनलाई उक्त परिमाणको धातु अवैधरूपमा लुकाइछिपाई भन्सार छली गर्न लगाई शनि देउला र कमल गुरुङले सङ्कलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरूलाई त्यहाँ तैनाथ प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै रकम ठगी गर्ने तीन पक्राउ

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका–१ स्थायी घर भई हाल भक्तपुर ठिमी नगरपालिका–३ बस्ने ४० वर्षीय राजकुमार लामिछाने, कैलाली लम्किचुहा नगरपालिका–५ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–२६ मित्रनगर नयाँबसपार्क बस्ने २३ वर्षीय चित्रबहादुर मगर तथा स्याङ्जा वालिङ नगरपालिका–१२ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–४ सुकेधारा बस्ने ४९ वर्षीय वीरबहादुर गुरुङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेका लामिछाने, बलराम थापामगर तीन जनालाई वैदेशिक रोजगारीको लागि सर्विया पठाइदिन्छु, त्यसको लागि प्रतिव्यक्ति रु आठ लाख लाग्ने भन्दै, पीडितबाट पटकपटक गरी जम्मा रु १७ लाख रकम लिई सम्पर्कविहीन भएका मगरले निशान खड्कालाई वैदेशिक रोजगारीको लागि टर्की पठाइदिने तथा, त्यसको लागि रु पाँच लाख लाग्ने भन्दै निज पीडितबाट पटकपटक गरी जम्मा रु दुई लाख ५० हजार रकम लिई सम्पर्कविहीन भएको तथा गुरुङले राजभक्त रानाभाटलाई वैदेशिक रोजगारीको लागि फ्रान्स पठाइदिने भन्दै पीडितबाट पटकपटक गरी जम्मा रु १४ लाख रकम लिई सम्पर्कविहीन भई ठगी गरेका उजुरीका आधारमा पक्राउ गरिएको हो ।

पक्राउ परेका निज तीनै जनालाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो । रासस