२०८१ बैशाख २० , बिहिवार

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन कहिले, कहाँ र को को जाने ?

HPV-Vaccine

सुनाखरी न्युज/ काठमाडौं ।

पाठेघर मुखको क्यान्सर विरुद्धको खोप ‘एचपीभी’ सरकारले  भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । परिवार कल्याण महाशाखाका अनुसार सात प्रदेशका अस्पतालमा केन्द्रित भएर एचपीभी खोप वितरण गर्ने भएको हो ।

 

महाशाखाका प्रमुख डा. विवेकलाल कर्णका अनुसार कोशी अस्पताल, नारायणी अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, प्रदेश अस्पताल सुर्खेत र डडेलधुरा अस्पतालमा एचपीभी खोप दिइनेछ । डा. कर्णका अनुसार अहिलेको लागि ‘प्राइलट प्रोजेट’को लागि मात्रै सञ्चालन गर्न लागिएको हो । कोशी र मधेश प्रदेशमा भने नियमित खोप चल्ने भएकाले भदौ २८ र २९ मा सञ्चालन हुनेछ ।

विश्व स्वास्थ्य संगठनले पाठेघर मुखको क्यान्सर विरुद्ध तीन वटा खोपलाई मान्यता दिएको छ, जसमध्ये नेपालमा दिन लागिएको खोप चीनमा बनेको सकुलेन ब्राण्डको हो । ‘एचपीभी खोपको मात्रा पनि कम भएको र खोपपछि हुने अवाञ्छित घटनालाई मध्यनजर गर्दै अस्पताल केन्द्रित भएर दिने निर्णय गरेका हौं’ कर्णले भने, ‘विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भएको खोप हो ।’

 

एचपीभी खोप अहिलेको लागि १४ वर्ष पूरा भएका र १५ वर्ष नकटेका किशोरीलाई मात्रै दिइँदैछ । खोप लिनका उमेर खुल्ने परिचय पत्र अनिवार्य गरिएको छ । अहिले चीनबाट खरिद गरेको २० हजार भाइल एचपीभी विरुद्धको खोप हाल टेकुस्थित खोप भण्डारणमा राखिएको छ । सरकारी स्तरबाट पहिलो पटक किशोरीलाई दिन लागिएको एचपीभी विरुद्धको खोप गत असार १९ मा नेपालमा आइपुगेको थियो । उक्त उमेर समूहका किशोरीलाई यो खोप दुई मात्रा दिनुपर्ने हुन्छ । खेर जाने खोपको सम्भावित अनुमान गर्दा करिब ९ हजार ५०० किशोरीलाई मात्र दिने महाशाखाले जनाएको छ ।

नेपालले दक्षिण पूर्वी एसियाको रणनीति अनुसार पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्म जनस्वास्थ्यको समस्याका रूपमा रहन नदिने नीति लिएको छ । र, ९ देखि १४ वर्ष उमेर समूहका बालिकालाई नियमित खोप सञ्चालन गर्ने योजना छ । सरकारले अनुदानमा खोप उपलब्ध गराउन दातृ निकाय ग्लोबल भ्याक्सिन एलायन्स (गाभी) लाई आग्रह गरेको छ । अबको एक वर्षभित्रमा नियमित अनुदानमा गाभी मार्फत एचपीभी विरुद्धको खोप आउने आशा राखिएको छ ।

 

चिकित्सकका अनुसार नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको क्यान्सर एक हो । पाठेघर मुखको क्यान्सर हुने मुख्य भूमिका ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण हुन्छ । विश्व स्वास्थ्य संगठनले स्वीकृतिप्राप्त संस्था गोल्बोक्यानका अनुसार नेपालमा प्रत्येक दिन करिब ६ जना महिलाको पाठेघर मुखको क्यान्सरको कारण मृत्यु हुन्छ ।