२०८१ बैशाख १६ , आइतवार

दब्ल्याङको पहिरोले किसान र उपभोक्ता मर्कामा

Capture – 2023-09-03T111300.596

सुनाखरी न्युज/ काठमाडौं ।
असारयता राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर दर्जनौँ पटक ठप्प भयो । वर्षा हुने बित्तिकै बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो झरिहाल्छ ।

कोरिडोरको वैकल्पिक सडकका रुपमा रहेको बागलुङ–कुश्मिसेरा सडक खण्डमाथिपट्टीबाट खस्ने पहिरोले दुवै सडक ठप्प हुन्छन् । पानी पर्ने बित्तिकै सडक अवरुद्ध हुँदा नगरपालिकाले सयौँ पटक यहाँ डोजर पठाउँदा हैरानै भइसकेको छ भने यातायात चालक र स्थानीयले सास्ती खेपिरनुपरेको छ । दिनभर ठूलो वर्षा भयो भने तीन दिनसम्म सडक खुल्ने अवस्था रहन्न ।

राति पानी प¥यो भने बिहान कहिल्यै पनि गाडी चल्न पाएका छैनन् । नियमित रुपमा गाडी नचल्दा दक्षिण बागलुङमा सामान ढुवानी गर्न र बिरामी अस्पतालसम्म ल्याउन निकै कठिन हुने गरेको छ । पहिरोले कोरिडोर र वैकल्पिक सडक अवरुद्ध बनाउँदा पैदलयात्रु पनि लामो बाटो प्रयोग गर्न विवश छन् । सडकको मध्य भागमै ठूलो पहिरो झरिराख्ने हुँदा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य हुन्छन् । पटक–पटकको सडक अवरुद्धले गर्दा बजारदेखि दक्षिण क्षेत्रमा सामान ढ्वानी गर्न र दक्षिणबाट किसानले उत्पादन गरेका दूध तथा तरकारी बजार ल्याउन कठिन हुने गरेको स्थानीय पदमप्रसाद पौडेलले बताउनुभयो ।

उहाँले गाउँमा दैनिक दूध उत्पादन हुने भन्दै सडकका कारण बजारमा समयमै ल्याउन नपाउँदा ठूलो नोक्सानी हुने गरेको गुनासो पोख्नुभयो । पैदल यात्रामार्फत दक्षिणबाट बागलुङ आउन कैयुको लामो झोलुङ्गे पुल तरेर कुश्मा हुँदै आउँदा झण्झटिलो र धेरै खर्चिलो हुने पौडेलको भनाइ छ । पहिरोले तीन वर्षदेखि दक्षिण क्षेत्रका हजारौँ नागरिकलाई सास्ती दिँदा स्थानीय, प्रदेश र केन्द्र सरकारले पहिरो रोकथामको काम गर्न नसकेको उहाँको गुनासो छ ।

“पानी नपर्दाको दिन यो बाटो हिँड्दा माथिबाट पहिरो आएर पुरिन्छ कि भन्ने डर हुन्छ, बाध्यताले जोखिम मोलेर हिँड्न बाध्य छौँ, दुई÷तीन ठाउँमा निकै अप्ठ्यारो छ, गाडी फस्ने र माथिबाट पहिरो आउने हो भने केही भेटिदैन”, पौडेलले भन्नुभयो, “यस्तो अवस्थामा सरकार मौन रहेको होकी काम गर्न नसकेको हो, हामी जस्ता किसानलाई त झन् निकै गाह्रो भएको छ, दिनदिनै बजार आउने जाने गर्नुपर्छ, कुश्मातिरबाट घुमेर जाँदा धेरै खर्च हुन्छ ।”

नगर प्रमुख वसन्तकुमार श्रेष्ठले पहिरोको दीर्घकालीन समाधान नहुँदा नगरपालिकाको लाखौँ रकम नोक्सान भइरहेको बताउनुभयो । उहाँले सडक अवरुद्ध हुँदा बित्तिकै नगरपालिकाले कर्मचारी र मेसिन लगाउँदै आएको भन्दै सडक डिभिजनका काम भए पनि नगरपालिकाले जनताको सहजताका लागि लाखौँ खर्च गरेर सडक खुलाउँदै आएको बताउनुभयो ।

नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “पानी पर्ने बित्तिकै सडक अवरुद्ध भइहाल्छ, सडक अवरुद्ध हुने बित्तिकै नगरपालिकाम फोन आउँछ, यात्रुलाई सडकमै राखेर हाम्रो जिम्मेवारी होइन भन्ने मिलेन, अहिलेसम्म धेरै पटक पहिरो खोल्न मेसिन लगायौँ, प्रायः एउटा मेसिन यही पहिरो हटाउनका लागि तमतयार राख्नुपर्छ, राखेका हुन्छौँ, दीगो समाधानका लागि प्रयास भएका छन्, प्रदेश सरकारसँग पनि माग गरेका छौँ, छलफल भइरहेको छ ।”

चार महिना अघिदेखि पहिरो नियन्त्रणका लागि गण्डकी प्रदेशले प्रयास गरे पनि अहिलेसम्म कुनै पनि काम सुरु भएको छैन । पहिरो नियन्त्रण र निर्माणका लागि ‘एक्सप्लोरर जियोलोजिकल कन्सल्टेन्सी’ले अध्ययन गरेर रु पाँच करोड लागतमा सडक पुनःनिर्माण गर्न सुझाव दिएको थियो । प्रदेश सरकारबाट यो काम अगाडि बढेको छैन । पहिरो नियन्त्रण नहुँदा बागलुङ बजारमा आउने तरकारी, खाद्यान्न र दूध वितरणमा समस्या भएको किसानको गुनासो छ ।

सात सय ५० मिटर लामो र एक सय ५० मिटर चौडा पहिरोले सयौं रोपनी जमिन बगिसकेको छ भने दर्जन घर जोखिममा परेका छन् । यात्रा गदागर्दै पहिरोले सडक अवरुद्ध हुँदा कयौँ यात्रु सडकमै अलपत्रसमेत हुने गरेका छन् ।
रासस