२०८१ बैशाख २४ , सोमवार

पाटा नेपाल, पाटा बंगलादेशका र एचएचटीडीएन क्षेत्रीय पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्ने

Capture (57)

सुनाखरी न्युज/ काठमाडौं । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बंगलादेश च्याप्टरद्वारा बंगलादेश टुरिजम बोर्ड, बंगलादेश पर्जटन कर्पोरेशन र पर्यटनसँग सम्बन्धित सबै संघसंस्थाको सहकार्यमा अगस्ट २६ देखि ३०, २०२३ सम्म बंगलादेशको ढाका र कोक्स बजारमा आयोजित ‘क्रस बोर्डर टुरिजम विथ नेबर’ नामक पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा सहभागीता जनाएको छ।

 

नेपाल, भारत र बंगलादेशका सार्वजनिक र निजी पर्यटन क्षेत्रका सरोकारवालाहरू गरी करीब २५० भन्दा बढी सहभागीहरुलाई एकै ठाउँमा ल्याएर बंगलादेशको पर्यटन प्रवर्धन गर्ने तथा छिमेकी देशहरूबीचको अन्तरदेशीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रम आयोजक पाटा बंगलादेश च्याप्टरका अध्यक्ष श्री शाहिद हमिद को निमन्त्रणामा पाटा नेपाल च्याप्टरका अध्यक्ष श्री विभुति चन्द ठाकुरको नेतृत्वमा १३ नेपाली पर्यटन प्रतिनिधिहरु र भारतको सिलिगुरी अवस्थित हिमालयन हस्पिट्यालिटी एण्ड टुरिजम डेभलपमेन्ट नेटवर्क (एचएचटीडीएन) का महासचिव श्री सम्राट सन्यालको नेतृत्वमा १६ जना भारतीय पर्यटन व्यवसायीहरुले विदेशी प्रतिनिधिको रूपमा सहभागीता जनाएका थिए।

 

यस पाँच दिने परिचयात्मक भ्रमण एवं पर्यटन ब्यापार आदानप्रदान कार्यक्रमको उद्घाटन २६ अगस्ट २०२३ का दिन ढाकाको निकुञ्जस्थित ढाका रिजेन्सी होटल एण्ड रिसोर्टमा बंगलादेशका माननीय नागरिक उड्डयन तथा पर्यटन मन्त्री एम. महबुब अलीले गर्नुभयो। कार्यक्रममा विदेशी प्रतिनिधिहरूका लागि बंगलादेशको रमणीय एवं आकर्षक पर्यटकीय गन्तब्य तथा प्रोडक्टहरुको परिचयात्मक भ्रमण सहित विदेशी प्रतिनिधिहरू र स्थानीय पर्यटन उद्यमी तथा सरोकारवालाहरू बीच बंगलादेशको ढाका र कक्स बजारमा बीटुबी आदानप्रदान सत्रहरू समेत आयोजना गरिएको थियो।

 

नेपाल र भारतका प्रतिनिधिहरूसहित बंगलादेशको आयोजक टोलीले क्रसबोर्डर तथा क्षेत्रीय पर्यटन प्रवर्द्धन गर्नका लागि आवस्यक यात्रा औपचारिकतालाई सरल बनाउनुपर्ने र अन्तरदेशीय पर्यटक उपझारुलाई आ-आफ्नो व्यवसायमा एकीकृत यात्रा प्याकेजहरूको रुपमा प्रवर्धन गर्ने जस्ता अन्य महत्वपूर्ण कार्यहरुमा आफ्नो कार्यदिशा, संलग्नता र वकालत प्रयासहरू अघि बढाउन सहमत भएका छन्।

 

पाटा बंगलादेश च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रमलाई बंगलादेश टुरिजम बोर्ड, भिसा, बंगलादेश प्रजटन कर्पोरेशन, टुरिष्ट पुलिस बंगलादेश, पाटा नेपाल च्याप्टर, एचएचटीडीएन, नोभो एयर, यूएस बंगला एयरलाइन्स, ढाका रिजेन्सी होटल एण्ड रिसोर्ट, बेस्ट वेस्टर्न प्लस माया, डीबीसी न्यूज, कान्भोय सर्भिस, सिल्भर वेभ टुर्स लिमिटेड, इन्टरकन्टिनेन्टल ढाका, रिभरिन टुर्स, सेन्ट मार्टिन ट्राभल्स, ग्रीन हलिडेज, होटल कोल्लोल, बेङ्गाल इन, सेक्युरेक्स, पाटा बंगलादेश ढाका युनिभर्सिटी स्टुडेन्ट च्याप्टर र कक्स बजार सिटी कलेज लगायतले सहयोग गरेका थिए।