२०८१ जेठ १ , मंगलबार

उपत्यकाको १० ठाउँमा सीआईबीको छापा

cib

सुनाखरी न्युज/ काठमाडौँ ।

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबी’ले  काठमाडौँ उपत्यकाका १० ठाउँमा छापा मारेको छ । हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन  ‘रेडी ट्रेड प्राली’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याएको सुन साउन ३ मा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट बरामद सुन संगठित तरिकाले तस्करी भएको भन्दै विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सिआईबीलाई हस्तान्तरण गरेको थियो । ब्यूरोले अनुसन्धान सुरु गरेपछि चिनियाँ नागरिक बस्ने डेरा र गोदामसहित १० ठाउँमा छापा मारिएको अनुसन्धान संलग्न एकजना अधिकृतले बताए ।

राजस्व अनुसन्धान विभागले पनि तस्करले संचालन गरेको टोखास्थित सुन गाल्ने कारखाना र गोदामहरुमा छापा मारेको थियो । ६० किलो सुन तस्करीमा अहिलेसम्म ३ जना चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ । ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्ग र ‘अलि’ भनेर चिनिने ली वेन सुङ्ग र जिक्वान लिन अहिलेसम्मको अनुसन्धानबाट मुख्य भूमिकामा देखिएका हुन् ।

आरोपीतहरुले स्मार्ट वाच, रेजर र ब्रेक प्याडमा लुकाएर कार्गोको सामानको रुपमा सुन ल्याउने गरेको अनुसन्धानबाट थाहा भएको छ । दुबई र हङकङबाट सुन काठमाडौँमा ल्याएपछि उनीहरुले इलेक्ट्रिक सामानबाट निकालेर गाल्ने र भारतमा पठाउने गरेको खुलेको छ ।

‘काठमाडौँमा सञ्चालित कारखानामा सुनलाई आधा केजी र १ केजीको बिस्कुट आकारमा बनाउने गरेको देखिन्छ’ अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्–‘बिस्कुट आकारको सुन तस्कर समूहले भारतमा पठाउने गरेको भेटिएको छ ।’

असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको सो सुन ‘रेडी ट्रेड प्रालि’ ले मगाएको थियो । सुन तस्करीमा संलग्न आरोपमा तिब्बत मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, चिनियाँ नागरिक जिक्वाङ लिन, तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङसहित २३ जना पक्राउ परेका छन् ।