२०८३ श्रावण २३ , शनिवार

किसानलाई छाडा पशुबाट बाली जोगाउनै हम्मे

Capture – 2023-08-29T100718.492

सुनाखरी न्युज/ काठमाडौं । कैलालीको जानकी गाउँपालिकामा छाडा पशुले पसाउने बेलाको धान बालीलाई क्षति पु¥याउन थालेपछि किसान समस्यामा परेका छन् । उनीहरुले छाडा पशु व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरेका छन् ।

 

किसान डम्बर चौधरीले धान बाली पसाउने बेलामा छाडा पशुले नोक्सानी पु¥याएको बताउनुभयो । “छाडा पशुको उचित व्यवस्थापन नहुँदा सास्तीमात्र होइन, बाली जोगाउन समस्या भएको छ”, उहाँले भन्नुभयो, “धानबाली पसाउन थालेको छ । यस्तो बेलामा पशुले किसानको बाली सखाप गरिरहेका छन् ।”

 

छाडा पशुले बाली नोक्सान गर्न थालेपछि रात–दिन बाली कुरेर बस्नु परिरहेको जानकी–३ का किसान वीरेन्द्र कुँवरले बताउनुभयो । “केही दिनअघि पशुको बथान पसेर दुई कठ्ठा जमिनको धान खाएर सखाप पारे”, उहाँले भन्नुभयो, “त्यसपछि बाली कुर्न थालेका छौँ, तारबार लगाएको बाली पनि पशु पसेर सखाप पार्न थाले ।”

 

उहाँका अनुसार छाडा पशुले आफ्नो मात्र नभई अन्य किसानको बालीमा समेत नोक्सानी गरेका छन् । पशुले बाली सखाप पार्ने डरले कतिपय किसानले खेती लगाउन छाडेका छन् । “मेरो छिमेकीले लगातार दुई वर्ष पशुका कारण बाली स्याहार्न नपाएकाले यस वर्ष धानबाली रोपेनन्”, उहाँ भन्नुहुन्छ, “यसपालि मास र अलहर खेती गरेका छन् । त्यसमा पनि पशुले क्षति पुर्याएपछि दिक्क छन् ।”

 

छाडा पशु यस क्षेत्रमा दीर्घकालीन समस्याका रूपमा स्थापित हुँदै आएको छ । व्यवस्थापनका लागि केही प्रयास भएका छन् । छाडा पशु व्यवस्थापनका लागि अस्थायी टहरा निर्माणदेखि पालनपोषणका लागि केही कार्य गरेका छन् । ‘सिजनल’रूपमा तत्कालीन समस्या समाधानको प्रयास भए पनि यसको दीर्घकालीन व्यवस्थापन नहुँदा छाडा पशुको समस्या उस्तै रहेको अर्का किसान गणेश उपाध्यायको गुनासो छ ।

 

छाडा पशुको समस्या समाधानका लागि गत वर्ष गाउँपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको थियो भने यस आर्थिक वर्षमा पनि सोही बराबरको रकम विनियोजन गरेको छ । तत्कालीन समस्या समाधानसँगै दीर्घकालीन समस्या निराकरणका लागि गाउँपालिकाले सबै पक्ष र सरोकारवालासँग छलफल र समन्वय गरिरहेको गाउँपालिका अध्यक्ष गणेश चौधरीले बताउनुभयो । “गाउँपालिकाले पशु व्यवस्थापनका लागि सामुदायिक वनसँग समन्वय र जग्गाको खोजी गरिरहेको छ । व्यवस्थापनका लागि सामुदायिक वनसँग प्रस्ताव राखिएको र व्यवस्थापनको जिम्मेवारी लिन चाहनेलाई प्रस्तावसहित आउन आह्वान गरेका छौँ”, उहाँले भन्नुभयो, “जग्गाको खोजी गर्दैछौँ, कसरी व्यवस्थापन गर्ने भनी गृहकार्य सुरु भएको छ । जग्गाका लागि सामुदायिक वनसँग सहकार्य कसरी गर्न सकिन्छ भनेर छलफल चलिरहेको छ ।”

 

जानकी गाउँपालिकामा करिब एक हजार बढी छाडा पशुचौपाया रहेका छन् । छिमेकी पालिकाबाट आउने पशु नरोक्दासम्म दीर्घकालीन समस्या समाधान नहुने स्थानीय बताउँछन् । कैलालीको टीकापुर नगरपालिकाले भने गौशाला सञ्चालनमा ल्याएको छ । नगरपालिकाले सञ्चालन गरेको गौशाला हाल स्थानीयले व्यवस्थापन समितिमार्फत सञ्चालनको जिम्मा लिएका छन् । गौशालामा करिब छ सय पशु रहेको बताइएको छ । रासस