२०८१ जेठ ४ , शुक्रवार

नेपालमा लगानीका लागि पहल गर्न जापानी सांसदलाई चेम्बरको आग्रह

Capture (22)
सुनाखरी न्युज/ काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि पहल गर्न जापानी सांसदलाई आग्रह गरेको छ ।
चेम्बरको टोलीले आज नेपालमा भ्रमणमा रहनुभएका सांसदद्वय कोबायाशी काजुहिरो र नागइ मान्बुसँगको भेटमा नेपाल र जापानबीचको कूटनीतिक र आर्थिक सम्बन्ध ऐतिहासिक रहेकाले नेपालमा लगानीका लागि पहल गर्न जापानी सांसदलाई आग्रह गरेको हो ।
भेटमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जापानसँग नेपालको सम्बन्ध आर्थिक तथा व्यापारिक दृष्टिकोणले ऐतिहासिक रहेको बताउनुभयो । “दुई मुलुकबीचको कूटनीतिक सम्बन्ध ७० वर्ष पुग्न लागेको छ, लगानी वृद्धि र व्यापारिक साझेदारीमार्फत आपसी सहकार्यलाई थप बलियो बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो ।
अध्यक्ष मल्लले नेपालको जलविद्युत्, पूर्वाधार, पर्यटन एवं प्रविधिको क्षेत्रमा लगानीको वातावरण बनाउन जापानका सांसदलाई आग्रह गर्नुभयो । कृषिमा प्रविधि हस्तान्तरण हुन सके नेपालले लाभ प्राप्त गर्नसक्ने उहाँको भनाइ थियो ।
स्वागत कार्यक्रममा जापानी सांसद काजुहिरोले नेपालमा ३० वर्ष अगाडि आएर लुम्बिनीमा वृक्षरोपण गरेको स्मरण गर्नुभयो । नेपाल जापानबीचको आर्थिक र कूटनीतिक सम्बन्ध सधैँ उत्कृष्ट रहेको उहाँको भनाइ छ ।
अर्का सांसद मान्बुले दुई मुलुकबीचको आर्थिक र कूटनीतिक सम्बन्धलाई जनस्तरसम्मै पु¥याउनुपर्ने बताउनुभयो । सांसदको टोलीले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेट गरेको थियो । रासस