२०८१ बैशाख २१ , शुक्रवार

एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश

snake bite

सुनाखरी न्युज/ काठमाडौं ।
भरतपुर अस्पतालमा साउनमा मात्र एक सय १७ जना सर्पदंशका बिरामीले उपचार लिएका छन् । चितवनसहित छिमेकी जिल्लाबाट आएका सर्पदंशका बिरामीले सेवा लिएका हुन् ।

उपचारमा आएकामध्ये १३ जनालाई एन्टिस्नेक भेनम प्रयोग गरि उपचार गरिएको थियो भने अन्यलाई सामान्य उपचारपछि घर फर्काइएको छ । चितवन, नवलपुर, मकवानपुर, तनहुँलगायतका जिल्लाबाट सर्पदंशका बिरामी भरतपुर अस्पताल आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार सर्पदंशका बिरामीमध्ये एन्टिस्नेक भेनम औषधिको प्रयोग गर्नुपरेकालाई सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो । उहाँले भन्नुभयो, “गत आर्थिक वर्षमा २२ जनालाई एन्टिस्नेक भेनम दिइएको थियो ।” यस्तै सोही समयमा ७१ जनाको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

सर्पदंशका बिरामी बढी सङ्ख्यामा वर्षात्का समयमा आउने गरेको चिकित्सकले बताएका छन् । वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरीका अनुसार खेती लगाउने समयमा सर्पदंशको समस्या बढी हुने गर्दछ । विषालु सर्पले टोक्दा बिरामीलाई पेट दुख्ने, कमजोरी महसुस हुने, आँखाको परेला झर्ने, हात खुट्टा चलाउन नसक्ने, बान्ता हुने, बेहोस हुनेजस्ता लक्षण देखिने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विषादी नभएको सर्पले टोक्दा घाउ हुने र सुनिने मात्रै हुन्छ ।” रुखमा पाइने हरियो सर्पले टोक्दा रक्तश्राप बढी हुने, सुनिनेजस्ता लक्षण देखिने गरेको उहाँले जानकारी दिनुभयो । सर्पले टोकेमा दौडिन, हिँड्न र हलचल गर्न नहुने, टोकेको ठाउँमा भन्दामाथि रक्तसञ्चार विस्तारै होस् भनेर बाँध्ने र नजिकैको अस्पतालमा लैजाने गर्नुपर्ने उहाँले बताउनुभयो ।

तेह्र वर्षअघि सर्पदंशका कारण श्रीमती गुमाएका भरतपुर महानगरपालिका–८ का धर्म कार्कीले पछिल्ला वर्षमा सर्पदंशका कारण मृत्यु हुनेको सङ्ख्या घट्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस्ता घटना जसलाई पर्छ उसको परिवारले ठूलो पीडा भोग्नुपर्दो रहेछ, मेरो परिवारले जस्तो अरुले भोग्नु नपरोस् ।” वर्षात्को समयमा सरकारी तवरबाट व्यापकरुपमा जनचेतना जगाएर सर्पदंशका घटनामा कमी ल्याउनुपर्ने उहाँले सुझाव दिनुभयो ।
रासस