२०८१ बैशाख २० , बिहिवार

आजदेखि तीज मेला सुरु

Capture – 2023-08-23T172239.783

सुनाखरी न्युज/ काठमाडौं ।
‘युनाइटेड वल्र्ड ट्रेड सेन्टर’मा आउँदो तीजलाई लक्षित गर्दै आजबाट तीज मेला सुरु भएको छ । काठमाडौँको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरको चौथो तल्लामा ‘डिइसिसी’ले विशेषगरी महिला उद्यमी तथा व्यवसायीको व्यवसाय विस्तार एवं प्रवर्द्धन गर्ने उद्देश्यले आज तीज मेलाको उद्घाटन गरेको हो ।

आजदेखि यही १० गतेसम्म सञ्चालन हुनेगरी पाँच दिन चल्ने उक्त मेलामा एक सयभन्दा बढी स्टल रहेका छन् । तीजका लागि आवश्यक पर्ने सम्पूर्ण सामान र विशेषगरी महिलालाई दैनिक प्रयोगका सामान सस्तो मूल्यमा एकै स्थानमा किनमेल गर्नका लागि मेलाको आयोजना गरिएको डिइसिसीका प्रबन्ध निर्देशक मनोज गुरुङले जानकारी दिनुभयो ।

उक्त मेलामा सबै स्टल बुकिङ भइसकेका छन् । गैरनाफामूलक संस्थालाई मेलामा निःशुल्क स्टलको व्यवस्था गरिएको र त्यस्ता संस्था सम्पर्कमा आए स्टल थप गरेर उपलब्ध गराइने निर्देशक गुरुङले जानकारी दिनुभयो ।

डिइसिसीका प्रबन्ध निर्देशक मनोज गुरुङका माता तारादेवी गुरुङले उक्त मेलाको उद्घाटन गर्दै विगत १३ वर्षदेखि आयोजना हुँदै आएको मेलाको चौधौँ संस्करण आयोजना गर्न गइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा माता गुरुङले उद्यमशीलताले मुलुकलाई समृद्धिको मार्गतिर लैजाने बताउनुभयो । महिला उद्यमीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न, एकअर्काको सीप दक्षता आदानप्रदानमा समेत मेलाले टेवा पुर्याउनेमा उहाँको भनाइ छ ।

मेलामा नेपालका साथै छिमेकी मुलुकका प्रदर्शक तथा बिक्रेताको सहभागिता रहने मेलामा लत्ताकपडा, कस्मेटिक, चुरापोते, गरगहना, विभिन्न परिकार लगायतका अन्य सामग्री बजार मूल्यभन्दा सस्तोमा एकै छानामुनी खरिद गर्न सकिनेछ ।

कोकाकोला, वुका, सन डाउन बाइ कर्मा, स्याङ्को, एक्स्प्रेस थकाली, शिवशक्ति फेशन, भेस्पर वाइन लगायतका ब्राण्डको सहयोग रहेको मेलामा उल्लेखित ब्राण्डकातर्फबाट मेला अवलोकनकर्तालाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ । डे टु डे डोर पुरस्कारको व्यवस्था गरिएको मेला बिहान १० बजेदेखि साँझ ७ बजेसम्म मेला सञ्चालन हुनेछ । फुड भौचर तथा डिस्काउन्ट भौचर उपलब्ध गराइने मेलाको २० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ ।
रासस