
सुनाखरी न्युज / काठमाडौं – पूर्वी नवलपरासीको दुम्कौली स्थित शाश्वत धाममा शनिबार देखि हनुमंत कथा वाचन सुरु भएको छ । भारत मध्य प्रदेश बागेश्वर धामका पिठाधिस पण्डित आचार्य धिरेन्द्रकृष्ण शास्त्री बागेश्वर बाबाले हनमंत कथा वाचन सुरु गरेका हुन । शाश्वत धाममा बागेश्वर बाबाबाट वाचन हुने कथा श्रवणका लागि नेपाल तथा भारतका विभिन्न राज्यबाट आएका श्रद्धालुहरू बिहानैदेखि पर्खेर बसेका थिए ।
चौधरी ग्रुपका वरुण चौधरीको निमन्त्रणमा शुक्रवार काठमाडौँ आएका उनले शुक्रवारै पशुपतिनाथ मन्दिर क्षेत्रमा पुगेर दर्शन गरेका थिए। उनी पशुपति क्षेत्रमा पुग्दा उनलाई हेर्न हजारौँको भिड लागेको थियो। विशेष सुरक्षा घेरामा रहेका उनलाई पशुपतिको भिड छिचोल्न हम्मे परेको थियो।
शनिवारसम्मको काठमाडौँ बसाइमा केही राजनीतिक भेटघाटको कार्यक्रम मिलाइएको थियो। गृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतले होटेल भिभान्तामा गएर उनलाई भेट गरे। कलाकारहरू लगायत नेताहरूको समेत बाक्लो उपस्थित थियो भिभान्तामा।कथा वाचन कार्यक्रममा सांसद विनोद चौधरी परिवारसहित उपस्थित थिए ।
कथा श्रवण गर्न आएका सन्त महन्त तथा श्रद्धालुहरूले बाबासँगै भजन कीर्तन गरी नाचगानमा रमेका देखिन्थे ।बाबामा चमत्कारिक एवं अलौैकिक शक्ति रहेको र रोग निको पार्न भगवान् बालाजीको आशीर्वाद प्राप्त हुने विश्वासमा कतिपय बिरामी र उनका परिवार कार्यक्रम स्थलमा आइपुगेको एक श्रद्धालुले बताए ।शाश्वत धाममा सनातन धर्ममा आधारित वेद बिद्याश्रम, गौशाला, सरोबर, गणेश , दुर्गा, बुद्ध, हनुमान लगायत महाभारत कालिन देवमूर्ति, धार्मिक संग्रहालय तथा खजुराह शैलीको शिव मन्दिर रहेको छ ।