२०८१ बैशाख २० , बिहिवार

भ्याट विवरण बुझाउने समय साना व्यवसायीलाई छुट, ठूलालाई कडाइ

IRD

सुनाखरी न्युज/ काठमाडौं ।

सरकारले साना व्यवसायीलाई भ्याट बुझाउने समयमा छुट दिएको छ । आन्तरिक राजस्व विभागका अनुसार अब वार्षिक १ करोड भन्दा थोरै मूल्यको कारोबार गर्ने मूल्य अभिवृद्धि कर लाग्ने कारोबार गर्ने करदाताले चौमासिक रुपमा विवरण बुझाए हुने भएको छ ।

 

१ करोड भन्दा माथिको कारोबार गर्ने मूल्य अभिवृद्धि कर संकलन गर्ने व्यवसायीले भने मासिक रुपमा विवरण बुझाउनु पर्ने भएको छ । यसअघि उनीहरुले पनि चौमासिक रुपमा बुझाउन सकिने व्यवस्था थियो ।

 

आन्तरिक राजस्व विभागका अनुसार इँटा उद्योग, होटेल, पर्यटन तथा चलचित्र घरको हकमा साउनबाट यो प्रावधान लागु भएको हो । सोहीकारण अब एक करोड रुपैयाँ भन्दा बढीको कारोबार भएका करदाताले अब मासिक रुपमा विवरण कर कार्यालयमा बुझाउनु पर्ने भएको छ ।

 

साना करदातालाई भने लागत र समय घटाई सुविधा दिन अब चार-चार महिनामा विवरण पेश गर्न सकिने सुविधा सरकारले दिएको छ । यसअघि मासिक रुपमा कर विवरण बुझाउँदै आएका करदातादाले अब २५ मंसिर, २५ चैत र २५ साउन भित्र विवरण पेश गरे पुग्ने भएको छ ।