२०८१ बैशाख २० , बिहिवार

मुलुकको विदेशी मुद्रा सञ्चिति २३.१ प्रतिशत बढ्यो, १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त

Dollear- Remittance

सुनाखरी न्युज/ काठमाडौं ।
असार मसान्तसम्म मुलुकको विदेशी मुद्रा सञ्चिति ११ अर्ब ७४ करोड अमेरिकी डलर बराबर रहेको छ । नेपाल राष्ट्र बैंकको वार्षिक वित्तीय प्रतिवेदनअनुसार अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति २०७९ असारको तुलनामा २३.१ प्रतिशत बढेको हो ।

आर्थिक वर्ष २०७९-८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकको तथ्यांक छ ।

नेपाली रुपैयाँमा भने एक वर्षको अवधिमा विदेशी मुद्रा सञ्चिति २६.६ प्रतिशत बढेको छ । २०७९ असार मसान्तसम्म १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ बराबर पुगेको छ ।

 

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १३ खर्ब ४५ अर्ब ७८ करोड र बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंक बाहेक) सँग १ खर्ब ९३ अर्ब ५९ करोड रुपैयाँ बराबर रहेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।