
शिशिर उजाड/ पोखरा । संघीयता विरोधीको पहिचान वनाएको राष्ट्रिय जनमोर्चा कास्कीको पाँचौं जिल्ला सम्मेलन आगामी असोज २६ र २७ गते पोखरामा हुने भएको छ ।
जनमोर्चाको पोखरामा सम्पन्न वैठकले जिल्ला सम्मेलनको मिति तय गर्दै सम्मेलनलाई सफल वनाउन विभिन्न तयारी शुरु गरेको नेता गणेश अधिकारीले जानकारी दिनुभयो ।गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं भन्ने नाराका साथ हुने सम्मेलनका लागि जिल्ला अध्यक्ष रविमोहन ढकालको संयोजकत्वमा २३ सदस्यीय आयोजक समिति र विभिन्न ४ वटा उपसमिति गठन समेत गरेको छ । समितिमा तम व. रोका, लक्ष्मी कुवँर, जमुना खाती, विष्णु पुरी, गणेश अधिकारी, रमेश गुरुङ,प्रविण पौडेल, सुशिला वि.क, देविलाल कडेल लगायतका २३ जना रहनुभएको छ । वैठकले कार्यालय व्यवस्थापन, संगठन परिचालन, आर्थिक र प्रचार प्रसार समिति पनि गठन गरेको वताईएको छ । पार्टीको वडा तथा गाउँपालिका स्तरीय सम्मेलन भने भदौं १६ देखि संचालन गरिने प्रचार संयोजक गणेश अधिकारीले वताउनुभयो ।
वैठकमा वोल्दै केन्द्रिय नेता शंकर वरालले संघीयता खारेजीको पक्षमा जनमास वढेको वताउँदै, यस विषयमा पाँचौ सम्मेलन पनि भव्य हुने वताउनु भयो । जिल्ला अध्यक्ष रविमोहन ढकालको अध्यक्षतामा भएको वैठकले सम्मेलनको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ ।